अत्तरिया – कैलालीको अत्तरिया स्थित विजयनगर टोलमा सरसफाइ गरिएको छ । शनिवार स्थानीयले विजयनगर गल्ली नम्बर २ को मुख्य सडक सँगै नालामा सरसफाइ गरेका हुन । लामो समयदेखि टोलमा सरसफाइ नहुँदा दुर्गन्धित भएकाले सबै मिलेर सरसफाइ गरिएको स्थानीय कमला जोशीले बताइन् । उनले सरसफाइ गरिएको फोहोर सडक किनारामा जम्मा गरिएको र, नगरपालिकाको गाडीलाई उठाउन अनुरोध गरिएको बताइन् । उनले सरसफाइ कार्यक्रम आगामी दिनमा निरन्तर रूपमा अगाडि बढ्ने बताइन् ।
स्थानीय परी नाथले स्थानीयलाई जागरूक गराउने उद्देश्य सहित सरसफाइ कार्यक्रम गरिएको बताए । उनले सरसफाइ कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता रहेको बताए । यसअघि शुक्रवार बसेको स्थानीयका भेलाले टोलमा प्रत्येक महिनाका अन्तिम शनिवार सरसफाइ गर्ने निर्णय गरेका थिए । सोही निर्णय अनुसार सरसफाइको कार्यक्रम सुरु गरिएको स्थानीयले बताएका छन् ।
गोदावरी नगरपालिका – १ का वडा अध्यक्ष गोपाल दत्त भट्टले सरसफाइ कार्यक्रमले अन्य टोलवासीलाई पनि जागरूक गराउन राम्रो सन्देश दिएको बताए । उनले सरसफाइ कार्यक्रममा आगामी दिनमा वडा र नगरबाट हुने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सरसफाइ कार्यक्रमका लागि स्थानीय समाजसेवी हर्क शाहले १० वटा कुचो, गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाले १ सय पिस पन्जा र दिब्या किराना पसलले मास्क सहयोग गरेको थियो । अन्य सरसफाइ सामाग्री भने स्थानीयले आफै जुटाएको स्थानीय गोपाल नाथले बताए । १५० भन्दा बढी घरधुरी रहेको उक्त टोलमा सरसफाइ कार्यक्रममा सहभागी नहुने परिवार पहिलो पटकको लागि सजक समेत गराएका थिए ।