कैलाली-कञ्चनपुरमा अवैध सामान फेला
अत्तरिया- कैलाली र कञ्चनपुरमा अवैध सामान फेला परेको छ । कैलालीमा अन्दाजी २ लाख ६० हजार ६ सय मूल्यको अवैध सामान फेला परेको हो ।
धनगढी उपमहानगरपालिका-४ बसपार्क, भजनी नगरपालिकाको कुसुमघाट, भजनी-८ जसबहादुरघाट र टीकापुर नगरपालिका-७ सत्तीस्थित भित्री सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको चिनी, बेल्ट, बिडी, सुर्ती, माछा, मोटरसाइकल १ थान लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका-१० भन्सार कार्यालय नजिकबाट भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ३२ हजार ४४० मूल्यको प्याज, चिनि, मिठाई, दाल, कस्मेटिक, किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी र सशस्त्र प्रहरी बल नेपाल प्रस्ताविक सीमा सुरक्षा गुल्म गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।