अत्तरिया – कैलालीको अत्तरियामा रहेको उग्रतारा सुधार केन्द्रमा अनुभव साटासाट गर्दै दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ । शुक्रबार गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रवक्ता भट्टले युवा सुधार केन्द्रमा बस्दा देश कसले बनाउने भन्ने चिन्ता भएको बताए । उनले सुधार केन्द्रमा बसेका सबै सुधार भएर देश निर्माणमा लाग्ने अपेक्षा लिएको बताए । ‘युवा लागू औषधमा लाग्नुको दोष ब्यक्तिको मात्रै नभएर समाजको सरचना पनि दोषी रहेको छ’ उनले भने ‘लागू औषध नियन्त्रण गर्न समाज, अभिभावक, सरकार सबै लाग्नु पर्छ ।’

कार्यक्रममा सुधार केन्द्रमा बसेका महेश जोशी र बिजेन्द्र शाहीले लागू औषधमा फसेको अनुभव साटासाट गरेका थिए । कार्यक्रममा अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिह बोहरा, महासचिव यज्ञ राज जोशी लगायतको सहभागी रहेको थियो ।
उग्रतारा सुधार केन्द्रका अध्यक्ष बिमल कुमार भट्टको अध्यक्षतामा भएको कार्यक्रमको संचालन अशोक देवकोटाले गरेका थिए । ६ वर्ष अघि स्थापना भएको उग्रतारा सुधार केन्द्रले हालसम्म २ हजार बढीलाई उपचार गरिसकेको जनाएको छ । सुधार केन्द्रले विगत ३ वर्ष देखि महिला सुधार केन्द्र पनि सन्चालना ल्याएको जनाएको छ ।