अत्तरिया – जुवा सँग तिहारको विशेष साइनो छ । प्राचिनकाल देखि नै खेलिँदै आएको जुवा सरकारले प्रतिबन्ध लगाएको भए पनि तिहारमा भने यो प्रशासनको नियन्त्रण बाहिर नै पुग्छ । तिहारमा धमाधम जुवाडे पक्राउ पर्दा पनि यसको नियन्त्रण भने भएको हुँदैन । मुलुकी अपराध संहिता २०७४ ले जुवा–तासलाई गैर कानुनी गतिविधि मानेको छ । अपराध संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ । यस्तै, दोस्रो पटक पनि जुवा खेलेको पाइए त्यस्ता व्यक्तिलाई १ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । यती कडा कानुनी कारबाहीको प्रावधान हुँदा पनि जुवा खेल्ने क्रम भने रोकिएको छ ।
जुवा खेल्ने क्रम नरोकिँदा यस वर्षको तिहारमा पनि धमाधम जुवाडे पक्राउ परेका छन् । तिहार नजिकिए सँगै सुदूरपश्चिममा एकै दिन २६ जुवाडे पक्राउ परेका छन् । सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र बझाङबाट मंगलबार र बुधवार बिहान २६ जुवाडे पक्राउ परेका हुन । कैलालीको गोदावरीबाट बुधवार बिहान १ बजे प्रहरीले छापा हान्दा ९ जुवाडे पक्राउ परेका थिए । गोदावरी नगरपालिका – ८ स्थित प्रदीप भुलको पसलमा हारजितको हिसाबले जुवा तास भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले ९ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका – ४ का २७ वर्षीय नवीन थापा, सोही ठाउँका २४ वर्षीय भबेन्द्र पौडेल, गोदावरी नगरपालिका – ८ का ३७ वर्षीय सेर बहादुर कामी, सोही ठाउँका ३७ वर्षीय नरेश बहादुर कठायत, ३४ वर्षीय पुरन थापा, १८ वर्षीय रोशन भुल, ३५ वर्षीय चन्द्र बिसी र डडेल्धुराको अमरगढी नगरपालिका – १० का २९ वर्षीय हरिष कोली रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उनीहरूको साथबाट दुई गड्डी तास र ६१ हजार २३० रुपैयाँ बरामद गरी पसल सञ्चालक प्रदीप भुल सहित ९ जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
यसैबिच कञ्चनपुरबाट मंगलबार १२ जना जुवाडे पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–५ वनगाँउबाट ३२ वर्षका भीम घटालको घरमा जुवा तास खेलिरहेको अवस्थामा घटासहित १२ जना पक्राउ परेका हुन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले नगद ८२ हजार ३२२ र ६ गड्डी ताससहित पक्राउ गरेको बताएको छ । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बझाङमा कुखुरा फर्मबाट ५ जना जुवाडे पक्राउ परेका छन् । मंगलबार नै जय पृथ्वी नगरपालिका–९ सिम खेत बस्ने ६५ वर्षका बजुर खड्काको कुखुरा फर्मबाट जुवा तास खेलिरहेको अवस्थामा खड्कासहित ५ जना पक्राउ परेका हुन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले नगद ६६ हजार १३० र २ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
बन्द कोठाबाट जुवाडे पक्राउ पर्न थालेपछि पछिल्लो समय जुवाडेले खुला ठाउँलाई खेल्ने अड्डा (ठाउँ) बनाउन थालेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले मैदान अथवा जङ्गलमा जुवा खेल्ने प्रचलन बढेको बताए । उनले खुला ठाउँमा टाढैबाट प्रहरी आएको देखिने भएकाले भाग्न सजिलो होस भनेर जुवाडेले यस्तो जुक्ति लगाउने गरेको बताए । यसरी खुला ठाउँमा जुवा खेलिरहेकाहरूलाई पक्राउ गर्न समस्या हुने गरेको उनले बताए । यद्यपि उनले जुवाडे नियन्त्रण गर्न पछिल्लो समय जङ्गलमा विशेष निगरानी राख्ने गरिएको बताए ।