कञ्चनपुर- कञ्चनपुरको बेलौरीबाट ज्येष्ठ नागरिकलाई तीर्थयात्रा लगिएको छ । बेलौरी नगरपालिका-४ नम्बर वडा कार्यालयले वडा भित्रका ज्येष्ठ नागरिकहरूलाई तीर्थयात्रामा पठाएको हो ।

वडाको वार्षिक स्वीकृत ज्येष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको २ लाख ५० हजार बजेटमा ज्येष्ठ नागरिकहरूलाई तीर्थयात्रा गराउन लागेको वडाध्यक्ष अर्जुन ढकालले जानकारी दिए । उनका अनुसार वडा भित्रका ६८ वर्ष देखि १०२ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरू मध्ये २५ जना ज्येष्ठ नागरिकहरूलाई तीर्थ यात्रामा लगिएको छ । उनीहरूलाई मुस्ताङमा रहेको मुक्तिनाथसम्मका विभिन्न धार्मिक स्थलहरूको दर्शन गराइने वडाध्यक्ष ढकालले बताए ।

तीर्थयात्रामा ज्येष्ठ नागरिकसँगै स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकार र स्वयंसेवक समेत गरी ३५ जना सहभागी भएका छन् । शुक्रबार दिउँसो नगरप्रमुख पोतिलाल चौधरीले उक्त टोलीलाई बिदाइ गरेका हुन् ।

















