कैलाली- सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिमसहित कोशी, बाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी, अछाम, बर्दिया र सुर्खेतमा आज बेलुकीदेखि शनिबार बिहानसम्म ठुलो पानी पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिमसहित गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हुरीबताससहित ठुलो वर्षाको सम्भावना छ । ठुलो पानी पर्ने ठाउँमा बाढी, पहिरो, डुवान तथा गेग्रान बहावको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।