अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले पहिलो पटक गत वर्ष तिहारमा नगर क्षेत्रमा प्लास्टिक निषेध गरिएको सूचना जारी गरेको थियो । कार्तिक १७ गते जारी गरिएको सूचनामा नगर क्षेत्रमा प्लास्टिकजन्य फुल माला सहित प्लास्टिकजन्य सामाग्रीको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारणमा रोक लगाइएको थियो ।
सूचना जारी गरेपछि नगरपालिकाले नगर प्रहरी परिचालन गरी तिहारमा बजारमा बिक्रीका लागि राखिएका प्लास्टिकका माला जफत समेत गरेको थियो भने नगरका मुख्य ठाउँ तथा चोकमा प्लास्टिक निषेधित क्षेत्र लेखिएका ब्यानर समेत टाँसेको थियो । ब्यानरमै ठुला अक्षरमा प्लास्टिक ब्याग प्रयोग गरेको भेटाइएको खण्डमा कारबाही र जरिवाना गरिने उल्लेख गरिए पनि ब्यानर टाँसिएको एक वर्ष पुग्नै लाग्दा पनि त्यसको धज्जी उडाइँदै आएको छ ।
ब्यानर टाँसेर प्लास्टिक निषेध घोषणा गरिए पनि नगरले कानुन नबनाएकाले कारबाही गर्न समस्या भएको बताउँदै आएको नगरपालिकाले हाल ऐन पनि निर्माण गरिसकेको छ ।
नगरपालिकाले १२ औँ नगर सभाबाट गत वर्ष माघ ६ गते प्लास्टिकजन्य वस्तु प्रतिबन्ध सम्बन्धी ऐन २०८० निर्माण गरेको थियो । ऐन निर्माण भएको पनि ७ महिना बितिसक्दा पनि अझै प्लास्टिक निषेध क्षेत्र घोषणा कार्यान्वयन आउन सकेको छैन ।
नगरपालिकाले ऐन निर्माण पछि ३० दिने, १५ दिने र ७ दिने दुई पटक सूचना पनि जारी गरिसकेको छ । अन्तिम पटकको सूचनामा भाद्र ४ गतेबाट प्लास्टिकजन्य सामग्रीहरू पूर्ण रूपमा प्रयोग तथा बिक्री वितरणमा प्रतिबन्ध गरिने भएकाले सूचनाको उल्लङ्घन गरे प्लास्टिकजन्य वस्तु प्रतिबन्ध सम्बन्धी विधेयक २०८० अनुसार कारबाही हुने उल्लेख छ ।
जसमा प्लास्टिकबाट बनाएका प्लास्टिकका झोलाहरू (४० माइक्रोन भन्दा कम), डिस्पोजेबल वस्तुहरू (थाली, कप, गिलास, कचौरा, चम्चा) र रेस्टुरेन्ट, होटलहरुमा खानाको प्याकेजिङको लागि प्रयोग हुने प्लास्टिकका सामान निषेध गरिएको थियो ।
सूचना निकाल्दा पनि प्लास्टिक जन्य वस्तुको प्रयोग नरोकिएपछि नगरपालिकाले भदौ तेस्रो साता उपप्रमुखको संयोजकत्वमा बजारमा अनुगमन पनि गरेको थियो ।
अनुगमनका क्रममा नगरपालिकाले अनुगमन पश्चात् पनि प्लास्टिकको प्रयोग गरिएको पाइए जफत गर्ने जनाएको थियो । भाद्र १७ गते गरिएको अनुगमनका क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उपप्रमुख शारदा देवी रोकायाले पर्सी (१९ गते) देखि बजारमा प्लास्टिक देखिए नगर प्रहरी लगाएर जफत गर्ने बताएकी थिइन् ।
तर, नगरपालिकाको घोषणा, पटक–पटकका सूचना र अनुगमन पश्चात् पनि अहिले बजारमा छ्यापछ्याप्ती प्लास्टिक पोलिथिन मै व्यवसायीहरूले सामान बिक्री गरिरहेका छन् भने नगरपालिका मौन बसेको छ । अहिले पनि बजारका ठेला देखि किराना पसलहरूमा प्लास्टिककै ब्यागमा ग्राहकहरूलाई सामान दिने गरिएको छ ।
गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले भने प्लास्टिक निषेध गरिएकाले अब सिधै प्रयोग गरिएको भेटिए जफत गरी कारबाही हुने बताए । उनले पटक पटक सूचना निकालेर जानकारी दिइसकेकाले बजारमा प्लास्टिक प्रयोग गर्न नमिल्ने बताए । तर, नगरपालिकाले प्लास्टिकजन्य बस्तुको प्रतिबन्ध कार्यान्वयनका लागि एक्सन लिन नसक्दा अहिले पनि घोषणा, सूचना कार्यान्वयन हुन सकेका छैनन् ।