बैतडी – नेपाल टेलिकम बैतडीले टावरमा कुनै तोडफोड नभएको बताएको छ । जिल्लास्थीत सिगास गाउँपालिका – १ मा रहेको टेलिकमको टावरमा तोडफोड भएका समाचारहरु बाहिर आएपनि ति सत्य नभएको टेलिकम कार्यालयको भनाई छ ।
कार्यालयका प्रमुख सुजित प्याकुरेलले टावरमा नभई त्यसमा राखिएका कृषि विकास बैंकका सामग्रीहरुमा तोडफोड भएको बताएका छन । उनले टेलिकमको टावरमा कृषि बैंकको प्रयोजनको लागि राखिएका छुट्टै ब्याट्री, तार र सोलारपातामा तोडफोड गरिएको र टेलिकमको तारमा सामान्य क्षती मात्र भएको बताए ।
कृषि बिकास बैंक गाजरीको ईन्टरनेटको लागि टेलिकमको टावरमा ईन्टरनेट उपकरण राखिएका थिए । भदौ १५ गतेबाट बैंकमा इन्टरनेट नचलेपछि बैंकका कर्मचारी टावर हेर्न जाँदा तोडफोड गरिएको अवस्थामा भेटिएको सोही बैंकमा कार्यरत एक जना कर्मचारीले बताएका छन । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।