समय परिवेश सँगै फेरिँदै तिज

अत्तरिया – आज तिजको मुख्य दिन । आज नेपाली हिन्दु महिलाहरूले धार्मिक परम्पराअनुसार तिजको व्रत बसेर यो पर्व मनाउँदै छन् । हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा भगवान् शिव र पार्वतीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ । अनादि कालमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति रूपमा पाउँ भनी व्रत गरेको शिवपुराणमा उल्लेख छ । बाबुले आफ्नो विवाह भगवान् विष्णुसँग गरिदिने भएपछि पार्वतीले आफूले मन पराएको वर पाउन शिवजीको तपस्या गरेकी थिइन् । तथापि आफ्नो मनोकामना पूर्ण नभएपछि उनले शिव लिङ्ग स्थापना गरी व्रत बसी पूजा आराधना गरेकी थिइन् । अन्ततः उनले गरेको व्रत यसै दिन पूर्ण भएको र व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको शास्त्रमा उल्लेख छ । सोही आधारमा तीज पर्व मनाउने गरिएको पाइन्छ ।

maya metro hospital

तिजको अघिल्लो दिन दर खाने गरिन्छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन छ । तिजको दिनभर व्रत बस्ने भएकाले अघिल्लो दिन १२ बजे सम्म दर खाने गरिन्छ ।

पछिल्लो समय तिज समय परिवेश अनुसार मनाउने तरिकामा भने परिवर्तन हुँदै गएको छ । महिला अगुवा धना चोखालले समय परिवेश अनुसार तिज मनाउने तरिका फेरिँदै गएको बताइन् । उनले समयको परिवर्तन सँगै तिज मनाउने तरिकामा आएको परिवर्तनलाई छाडा भन्न नहुने बताइन् ।

attariya hospital

‘अहिले समय फेरिएको छ । कुनै पनि कार्यक्रम होटलमै गर्नुपर्ने बाध्यता पनि छ । पहिलेको जस्तो अहिले परिवेश छैन’ उनले भनिन् ‘अहिले त नेपालमा पनि रहनसहन विदेश जस्तो भइसकेको छ ।’ होटल व्यवसायी संघकी केन्द्रीय उपाध्यक्ष समेत रहेकी चोखालले तिजको कार्यक्रम होटलमा गरिनुलाई अन्यथा लिन नहुने बताइन् । उनले केही ठाउँमा केही व्यक्तिले तिजमा विकृति ल्याए भन्दैमा सबैलाई सोही नजरले हेर्न नहुने बताइन् । ‘कुनै समुदाय विशेषमा महिलाहरूले पनि मदिरा सेवन गर्ने चलन छ’ उनले भनिन् ‘अहिले त्यसैलाई देखाएर तिजमा महिलाहरूले मदिरा खाएर भनेर प्रचार गरिन्छ । यो राम्रो होइन ।’

महिला नेतृ रत्ना कडायतले तिजको संस्कृति जोगाउन राज्यले पनि भूमिका खेल्नुपर्ने बताइन् । ‘महिलाले मनाउने चाडपर्वमा विशेष गरेर स्थानीय सरकारले पनि ध्यान दिन आवश्यक छ’ उनले भनिन् ‘तिजमा पनि स्थानीय सरकारले जनचेतना मूलक कार्यक्रम गरिदिए यसको संस्कृति संरक्षणमा मदत पुग्छ ।’ गोदावरी नगरपालिकाकी निवर्तमान उपमेयर समेत रहेकी कडायतले अहिले स्थानीय सरकारले यस्ता कार्यक्रमलाई खासै महत्त्व नदिएको बताइन् ।

साहित्यकार तथा संस्कृतविध निर्मल कुमार भण्डारीले भने तिजमा, सभ्यता शिष्टता हराउँदै गएको बताए । ‘पहिले तिजको खानपीन, लवाइखवाएमा पहिले सभ्यता थियो’ उनले भने ‘अहिले छाडा भएको छ ।’ तिजको दिन गरिने कार्यमा पनि पछिल्लो समय धेरै परिवर्तन आएको संस्कृतविद् बताउन्छन । तिजको दिन महिलाहरू बिहान नुहाई धुवाई गरेर दिनभरि व्रत बस्ने गरे पनि पछिल्लो समय धेरै महिलाहरूले मध्यान्हमै पूजा आराधना पश्चात् फलफूल ग्रहण गर्ने गर्दछन् । जुन स्वास्थ्यको दृष्टिकोणले भने राम्रो भएको चिकित्सकहरू बताउन्छन । तिजको दिन महिलाहरू नजिक रहेको शिव मन्दिरमा गई शिव आराधनाका साथै नाच गान तथा रमाइलो गर्ने गर्दछन् ।

आधुनिक समाजमा तीजको महत्वलाई जनरूपले व्याख्या गरी मनाइए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन बिताउने गर्छन् । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराई घरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्त्वपूर्ण अवसरको रूपमा तीज पर्वको गहन महत्त्व रहेको छ । तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठुलो भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.