कैलाली-कञ्चनपुरमा अवैध सामान बेवारिसे फेला
अत्तरिया- कैलाली-कञ्चनपुरमा अवैध सामान बेवारिसे अवस्थामा फेला परेको छ । दुबै जिल्लाका विभिन्न स्थनामा भन्सार छलीको अवैध सामान बेवारिसे अवस्थामा फेला परेको हो ।
मंगलबार कैलाली धनगढी-३ ट्राफिक चौराहा र राजघाट, धनगढी-९ बङ्ग्राकटान, भजनी नगरपालिका-१ ठेगरपुर, भजनी-३ ढुसी र ठेकीपुल, भजनी-५ लालबोज र टीकापुर नगरपालिका-९ बालुवाटारबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ५ लाख ८९ हजार ३६० मूल्य बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
प्याज, चिनी, दाल, मिठाई, आलु, सुर्ती, बिडी, जुत्ता, चप्पल, ग्याँस पाइप, बिजुलीको सामान, पानी तान्ने मोटर, मोटरसाइकलका पार्टपुर्जा लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट संयुक्त खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
त्यसैगरी, हिजो नै कञ्चनपुरको बेलौरी नगरपालिका-१ फटैयाबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ५४ हजार ३८० मूल्य बराबरको पेय पदार्थ, ट्याक्टरका पाटपुर्जा, स्कुटरको ब्याट्री, पेन्ट लगायतका सामानहरु प्रहरी चौकी फटैया कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ ।