महेन्द्रनगर- कञ्चपुरको भीमदत्त नगरपालिकाले जेष्ठ नागरिकहरुलाई छाता र टर्च वितरण गरी सम्मान गरेको छ । नगरपालिकाले ८६ वर्ष उमेर माथिका ५७५ जना जेष्ठ नागरिकलाई छाता र टर्च वितरण गरी सम्मान गरेको नगरप्रमुख पदम बोगटीले बताए ।
‘वर्षातको समयमा विषालु सर्प, किरा फट्याङग्रा र अँध्यारोमा लड्ने, चिप्लने लगायतको जोखिम रहने भएकोले नगरपालिकामा रहनुभएका ८६ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिकहरुलाई छाता र टर्च लाईट वितरण गरिएको हो,’ उनले भने, ‘नगरपालिकाले १९ वटै वडा कार्यालयमा जेष्ठ नागरिकहरुको संख्या अनुसार छाता र टर्च पठाइसकेको छ । केही वडामा वितरण गरिसकिएको र बाकीँ रहेका वडामा छिट्टै वितरण हुन्छ ।’
वडा नम्बर एकका २० जना जेष्ठ नागरिकहरुलाई छाता र टर्च वितरण गरिएको छ । त्यसैगरी वडा नम्बर दुईका ३६ जना, तीनका ३० जना, चारका २१, पाँचका २०, छका ३४, सातका ४०, आठका ४३, नौका ३६ र १० का ६७ जना जेष्ठ नागरिकहरुलाई छाता र टर्च वितरण गरिएको छ ।
वडा नम्बर ११ का २१, १२ का १९, १३ का १६, १४ का २०, १५ का २५, १६ का १६, १७ का २०, १८ का ६७ र १९ का २४ जना गरी ५७५ जना जेष्ठ नागरिकलाई छाता र टर्च वितरण गरिएको नगरपालिकाले जनाएको छ । छाता र टर्च पाएपछि जेष्ठ नागरिकहरुले खुशी व्यक्त व्यक्त गरेका छन् ।