अत्तरिया – कैलालीको अत्तरियामा प्रहरीले मुख्य चुनौतीका रूपमा अनैतिक क्रियाकलाप नियन्त्रणलाई लिने गरेको छ । यहाँका केही होटलहरुले यौन धन्दा चलाइरहेकाले प्रहरीलाई यस्ता गतिविधि रोक्न चुनौती छ । यस क्षेत्रलाई नै बदनाम हुने गरी भइरहेका यस्ता गतिविधि रोक्न इलाका प्रहरी कार्यालय मालाखती अन्तरगत पर्ने यस क्षेत्रमा हरेक वर्ष जसो फेरिइरहने डिएसपीहरूले अनैतिक क्रियाकलाप रोक्ने प्रतिबद्धता गर्दै आएका छन् । तर, अत्तरियालाई लागेको अनैतिक क्रियाकलाप हुने अखडाको ट्याग भने अझै मेटिन सकेको छैन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीको कमान्ड हाल डिएसपी गंगा बहादुर थापाले सम्हालेका छन् । गत चैत १९ गते देखि यस क्षेत्रको कमान्ड सम्हालिरहेका थापालाई स्थानीयले उनको परिचयात्मक कार्यक्रममा अत्तरियामा यौन धन्दा मुख्य चुनौतीका रूपमा रहेको बताएका थिए । उनले कमान्ड सम्हाले यता ४५ जना पक्राउ परिसकेका भए पनि अझै यौन धन्दा नियन्त्रणमा आएको भन्न सक्ने आधार भने तयार हुन सकेको छैन् ।

अत्तरिया क्षेत्रबाट गत आर्थिक वर्षमा ५९ जना अनैतिक क्रियाकलामा संलग्न पक्राउ परेका थिए । जसमध्ये ३७ जना चैत्र १९ यता पक्राउ परेका थिए । चालु आर्थिक वर्षको २ महिनामा मात्रै १६ जना पक्राउ परेका छन् । डिएसपी थापाले पछिल्लो समय अनैतिक क्रियाकलापमा संलग्न पक्राउ पर्ने क्रम घट्दै गएको बताए । उनले धेरै जना अनैतिक क्रियाकलापमा संलग्न पक्राउ परिसकेकाले पछिल्लो समय यस्ता गतिविधि गर्नेको सङ्ख्यामा कमी आएको हुन सक्ने बताए ।


अत्तरिया क्षेत्र विगत लामो समय देखि अनैतिक क्रियाकलाप हुने क्षेत्रको रूपमा चिनिँदै आएको छ । यसको नियन्त्रणका लागि केही व्यक्ति पक्राउ परे पनि यसको नियन्त्रण भने हुन सकिरहेको छैन । अत्तरियाबाट भदैमा मात्रै ८ जना पक्राउ परेका छन् ।
डिएसपी थापाले अत्तरियामा जक्सनका रूपमा भएकाले पनि यस क्षेत्रमा अनैतिक क्रियाकलाप बढेको बताए । ‘मानिसहरूको बढी चहलपहल हुने क्षेत्रमा यस्ता गतिविधि भएको पाइन्छ’ उनले भने ‘प्रहरीको काम यस्ता गतिविधि गर्नेलाई पक्राउ गरेर कानुनी कारबाही अगाडि बढाउने नै हो । त्यसका लागि हामी लागेकै छौ ।’ उनले हाल अनैतिक क्रियाकलापमा कमी आएको बताए । उनले भने ‘पहिला दिनहुँ जस्तो अनैतिक क्रियाकलापमा संलग्न भेटिन्थे । अहिले मुस्किलले मात्रै भेटिन्छन् ।’
सुदूरपश्चिमको जक्सनका रूपमा रहेको अत्तरियामा अनैतिक क्रियाकलाप नरोकिँदा यो क्षेत्र बदनाम हुने गरेको छ । यसको नियन्त्रणको लागि जनस्तरबाट पटक पटक आवाज उठ्दै आएको भए पनि यसको नियन्त्रण अझै हुन सकेको छैन । यसलाई रोक्न प्रहरीले अझै सक्रियता बढाएर यस्ता गतिविधिका संलग्नलाई कडा कारबाही गर्न आवश्यक रहेको स्थानीयहरूको भनाइ रहेको छ ।
प्रहरीले पक्राउ गर्ने तर, केही दिनमा छोडिदिने र पुनः तिनै व्यक्ती अनैतिक क्रियाकलापमा संलग्न हुने भएकाले यसको दिगो समाधानका लागि यस्ता व्यक्तिलाई कारबाही गर्ने र अन्य व्यवसायमा आकर्षित गराउने खालका कार्यक्रम पनि सँगसँगै सञ्चालन गर्न आवश्यक छ ।