बेलौरी- कञ्चनपुरको बेलौरीमा ‘कञ्चनपुर टि-ट्वान्टी क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ । बेलौरीस्थित सिद्धेश्वर जयपृथ्वी क्लबले बेलौरी नगरपालिका-१० शिवनगरमा वडा दसैँ तथा दिपावलीको अवसर पारेर असोज २४ गतेदेखि सिद्धेश्वर माविको खेल मैदानमा खुल्ला कञ्चनपुर टि-ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगिता असोज २४ गतेदेखि कार्तिक ५ गतेसम्म सञ्चालन गरिने खेल सञ्चालक समिति संयोजक दीपक खड्काले बताए । संयोजक खड्काका अनुसार स्थानीय स्तरमा खेलाडीले आफ्नो प्रतिभा देखाउन मिल्ने गरी खेल लेदर बलले खेलाइने छ । प्रतियोगिताभर क्यानका आधिकारिक व्यक्तिद्वारा निगरानी समेत रहने उनले बताए ।

खेल नक आउट प्रकृयामा खेलाइने छ । प्रतियोगितामा भारतीय टिमले समेत सहभागी हुन पाउनेछन् । उपाधि विजेता टिमले १ लाख र उपविजेता टिमले ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । म्यान अफ द टुर्नामेन्टले १० हजार, बेस्ट ब्याट्समेन र बेस्ट बलरले ५ ५ हजारसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको प्रत्येक खेलका म्यान अफ द म्याचलाई १ हजारसहित ट्रफी प्रदान गरिने खेल सञ्चालक समितीका सहसचिव नरायण जोशीले बताए ।
प्रतियोगितामा सहभागी हुने टिमलाई १० हजार दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनको लागि क्लबले १० सदस्यीय टोलीको खेल सञ्चालक समिति गठन गरिसकेको छ । सञ्चालक समिति संयोजकमा दीपक खड्का, सहसंयोजक नरेश शाह, सचिव सन्तोष पन्त, सहसचिव नारायण जोशी, कोषाध्यक्ष सञ्जय शाही रहेका छन् भने फिल्ड तथा स्वयमसेवक व्यवस्थापनमा निराजन शाहलाई जिम्मेवारी तोकिएको छ ।
















