अत्तरिया – आज गौरा पर्वको महत्वपूर्ण दिन अष्ठमी अर्थात अठे वाली धुमधामका साथ मनाइँदै छ । आजको महिलाहरुले बिहानै खोला तलाउमा स्नान गरी घाँसबाट निर्मित गौरादेवीको प्रतिमा र काठको महेश्वरको प्रतिमालाई गौरा घरबाट बाहिर आगनमा ल्याई शङ्गार गरी सगुन गीत गाउँदै टाउकोमा राखेर महिला नाच्ने गर्दछन् ।
गौराको पहिलो दिन पाँच अन्न भिजाएर बनाएको बिरुडा गौरादेवीको पूजाआजा गर्न प्रयोग हुन्छ । अठेवालीका दिन बिरुडालाई घरमा लगेर पकाएर खाने पनि गरिन्छ । पहिले गाउँका प्रतिष्ठित व्यक्तिका घरमा सामूहिक रुपमा बिरुडा भिजाउने चलन थियो । अहिले सुविधाका लागि गौरा मन्दिर, सगोल तथा घर–घरमा भिजाउने गरिन्छ ।
हिमालयकी छोरी पार्वतीले भगवान शिवलाई पति पाउन गौरादेवीको निराहार व्रत बसेको किंबदन्तीका आधारमा गौरा मनाउने गरिएको हो । पार्वतीले शिव पति पाएझैं अविवाहित युवती शिवझैं पति पाउन भनी व्रत बसेको अठेवालीका दिन गौरादेवीको प्रतिमा टाउकोमा राखेर नचाउने गर्छन् भने पुरुषले धुमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्ने गर्छन् । धुमारी र ढुस्को ठाडो खेलमा महाभारत, रामायणसहित धार्मिक ग्रन्थमा आधारित कथा भन्ने गरिन्छ ।
बिरुडा भिजाएर शुरु हुने गौराको बिसर्जन नहुँदासम्म महिला र पुरुष सबैले धुमधामसँग मनाउने गर्छन् । भिजाएको बिरुडालाई षष्ठीका दिन नजिकैका पँधेरा वा इनारमा सगुन गाएर धुने गरिन्छ । त्यसपछि ती बिरुडालाई पुनः भिजाएको ठाउँमा राखिन्छ । सप्तमीका दिन अविवाहित युवतीले खेतबारीबाट धान, साऊँलगायतका बोटबाट गौरीको प्रतिमा बनाएर डालोमा राखेर गौरा घरमा भित्र्याउने गर्छन् ।
गौरीको प्रतिमासँगै पहेँलो कपडाले बेरिएको काठको पिर्कालाई शिवको प्रतिक मानेर राख्ने गरिन्छ । यस बेलामा दुबधागोलाई पूजाआजा गरी गौरीको प्रतिमा चढाउने गरिन्छ । यस बेलासम्म महिला निराहार हुन्छन् र कसैले फलाहार गर्छन् । यसअघि महिलाले आफ्ना पति र सन्तानको दीर्घायुको कामना गर्दै बिरुडाले पूजा गर्छन् ।
अठेवालीपछि गौरीको प्रतिमा राखिएको डालोलाई टाउकोमा राखेर नाच्ने गरिन्छ । गौरा नचाएको बेलामा अन्य महिलाले सगुन गाएर अक्षता र फूलले पूजा गर्छन् । स्थानीय भाषामा गौरीको प्रतिमालाई लली घुमारा भनिन्छ । अठेवालीका दिन महिला र पुरुष छुट्टाछुट्टै गौरामा रमाउँछन् । पुरुषहरुले गौरा नचाउने स्थान नजिकै धुमारी, ढुस्को, देउडा खेल्ने गर्छन् । धामी झाँक्रीलाई खुशी बनाउन अठेवालीका दिन पुरुषले विशेष गरी देवताका गाथा समेटिएका खेलमा रमाउँछन् ।
महिलाले गौरालाई नचाएपछि साँझतिर डालोभित्र राखिएका फलफूल तथा बिरुडालाई सफा कपडामा दुई पुरुषले आकाशमा फाल्ने गर्छन् । यसलाई फल फड्काउने भनिन्छ । त्यो फल आकाशमा चुम्यो भनेपछि चिताएको मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । अठेवालीका दिन पुरुषले आफ्नो जनैसमेत फेर्ने गर्छन् भने व्रत बसेका महिलाले नयाँ दुबधागो लगाउने गर्छन् ।
बिरुडा घरमा ल्याएर ठूलाबडाले सानालाई पूज्ने गरिन्छ । पुरुष रातिसम्म गौरा खलोमा ठाडो खेल खेल्ने गर्छन् । बर्खेखेती लगाएर फुसर्दिला हुँदा दिउँसो खाना खाएर सबै जना गौरा खलोमा पुग्ने गर्छन् । गौरा मनाउन देश विदेशबाट समेत घर आउने चलन छ । गौरामा नयाँ लाउने र मिठो खाने गरिन्छ । बर्खेखेती पछिको थकाइ मार्न सबै गौरामा रमाउँछन् ।
धनी गरीब भनिदैन । सबैले गच्छेअनुसार मनाउँछन् । गौराको अन्तिम नदी बाजागाजासहित जलाशय वा नदी किनारमा विर्सजन गरिन्छ । यसै अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वको बिदा दिने गरेको छ ।