गौराको रौनक सुरु

अत्तरिया – सुदूरपश्चिममा गौराको रौनक सुरु भएको छ । सुदूरपश्चिमको मौलिक पर्वमा रूपमा मनाइने गौराको गाउँ देखि बजार क्षेत्रमा रौनक बढेको छ । शनिवार विरुडा भिजाएर गौरा सुरु भएको छ । गौराको पहिलो दिन महिलाहरूले बिरुडा भिजाएका छन् । भदौ शुक्ल पञ्चमीका दिन महिलाहरूले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा विरुडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ ।

maya metro hospital

भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ । त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरूले दुवधागो (मन्त्रिएको एक किसिमको धागो) चढाउने चलन छ । अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला (आँगन)मा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ ।

यस दिनलाई दुर्वाष्टमी पनि भन्ने गरिन्छ । गौरा पर्वको मुख्य आकर्षणको रूपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ ।

attariya hospital

गौरा पर्व सुदूरपश्चिममा दसैँ भन्दा पनि बढी महत्वका साथ मनाइने गरिन्छ । यस पर्वमा घर बाहिर रोजगारीका लागि गएकाहरू पनि फर्किने गर्छन् । सुदूरपश्चिमका पहाडी समुदायले मनाउने गौरा पर्व पछिल्लो समय तराइका जिल्लाहरूमा पनि धूमधामका साथ मनाइने गरिन्छ । पहाडबाट बसाइ सराइ आएकाहरूले तराइमै मन्दिर निर्माण गरेर गौरा पर्व मनाइने गरिन्छ ।

कैलालीको गोदावरी नगरपालिका – ३ का करुणाकर अवस्थीले आफूहरू पहाडबाट बसाई सरेर तराई आएको भए पनि गौराको मौलिकता भने जोगाएको बताए । उनले पहाडकै देवी देवताका नाममा तराइमा मन्दिर निर्माण गरेर पहाडको जस्तै गौरा पर्व मनाउने गरेको बताए । ‘पहाड भन्दा यता गौरा मनाउने तरिका फरक छैन’ उनले भने ‘हाम्रो एउटै देवी देवता । जे पहाडमा चलन थियो त्यस्तै चलनलाई यहाँ पनि कायम गरेका छौ ।’

स्थानीय लक्ष्मी भट्टराइले पुर्खाको दिन देखि चलिआएको गौरा पर्व आफूहरूले पनि संरक्षण गर्दै मनाउने गरेको बताइन् । ‘गौरा हाम्रो सनातन धर्म हो । यो हामी पहिले देखि मान्दै आएका छौ’ उनले भनिन् ‘गौरा मान्नेलाई गौरा देवीले राम्रो गर्छिन् । त्यही मान्यताका साथ हामी मनाउँदै आएका छौ ।’ स्थानीय जुनतारा भट्टराईले गौराको विरुडाले पूजा गर्दा राम्रो हुने बताइन् । पहाडको मौलिक पर्व गौरा पहाडबाट बसाइ सरेर तराई झरेकाहरूले धूमधामका साथ मनाउँदै आएका छन् । गौरा पर्वमा मौलिकता सँगै गौरा सँग सम्बन्धित विभिन्न कार्यक्रमहरू पनि आयोजना गरिँदै आएका छन् ।

गौरा पर्वकै अवसरमा सुदूरपश्चिम प्रज्ञा– प्रतिष्ठान र डेउडा प्रतिष्ठानले पनि धनगढीमा गौरा महोत्सवको आयोजना गरेको छ । जुन १०, ११ र १२ गते सञ्चालन गरिने प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले बताएका छन् । जसमा विद्यालय स्तरीय खुला देउडा प्रतियोगिता पनि आयोजना गरिएको छ । गौराको अवसरमा गोदावरी नगरपालिका – ८ स्याउलेमा पनि गौरा पर्व मेला आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.