कैलाली-कञ्चनपुरमा अवैध सामान बेवारिसे फेला
अत्तरिया- कैलाली र कञ्चनपुरमा अवैध सामान बेवारिसे अवस्थामा फेला परेको छ । दुबै जिल्लाका विभिन्न स्थानमा ३ लाख ४० हजार ५५० मूल्य बराबरको अवैध सामान फेला परेको हो ।
सोमबार कैलालीको धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराहा, धनगढी-३ मिलनचोक, धनगढी-८ प्रगतीटोल र टिकापुर नगरपालिका-८ बटनपुरबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी २ लाख ७८ हजार २५० मूल्यको प्याज, चिनी, ब्लाउज, कुर्ती, सुटपिस, साडी, मोबाइल टच, टच चिप्काउने ट्युव, प्लाष्टिक झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
त्यसैगरी हिजो नै कञ्चनपुरको बेलौरी नगरपालिका-४ रिछा र पुनर्वास नगरपालिका-११ डोकेबजारबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ६२ हजार ३०० मूल्यको सुटपिस, साडी, धोती, माछा, साइकल लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।