बेलौरी- कचनपुरको बेलौरीमा गौरा पर्वको अवसरमा देउडा प्रतियोगिता एवम् वडास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । बेलौरी नगरपालिका-९ रतनपुरस्थित सिद्धनाथ मन्दिर समितिले गौरा पर्वको अवसरमा यही भाद्र ८ गतेदेखि १३ गतेसम्म देउडा एवम् वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

वडा कार्यालयको सह-आयोजनामा मन्दिर समितिले कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ । देउडा प्रतियोगितामा राष्ट्रिय कलाकार एवम् स्थानीय कलाकारको प्रस्तुती रहने मन्दिर समितिका अध्यक्ष दिनेशराज भट्टले बताए । भट्टका अनुसार देउडा प्रतियोगितामा राष्ट्रिय देउडा कलाकार जेआर भट्ट र भानुभक्त जोशीको प्रस्तुती रहनेछ ।

त्यसैगरी नगरपालिका भित्रका १० वटै वडा समेटिने गरी वडास्तरीय भलिबल प्रतियोगिता समेत आयोजना भइरहेको छ । भलिबल प्रतियोगिताको लागि टिम दर्ता हिजोदेखि सुरु भइसकेको आयोजकले जनाएको छ । टिम दर्ता शुल्क २ हजार रुपैयाँ तोकिएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने टिमलाई क्रमश: २१ हजार १ सय ११, ११ हजार १ सय ११ र ७ हजार १ सय ११ सहित ट्रफी मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।