बैतडी – बैतडीबाट एउटा अवैध मोटरसाईकल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको शिवनाथ गाउँपालिका– ६ का त्रिलोकसिँह धनाडीलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
बिशेष सूचनाका आधारमा धनाडीले चलाईराखेको सुपप्र ०१००८ प १३७४ नम्बर लेखेको मोटरसाइकल चेकजाँच गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।
उनका अनुसार धनाडीले चलाएको मोटरसाईकलको कुनैपनि कागजपत्र नभेटिएको र भारतबाट अवैध रुपमा ल्याएर चलाएको पाइएपछि थप अनुसन्धानका लागि महाकाली भन्सार कार्यालय झुलाघाट पठाइएको छ ।
यस्तै जिल्लाकै पाटन नगरपालिका– ६ का अशोक बिष्ट सहित सोही नगरपालिकाको वडा नं. ७ का चम्मन भट्ट र वसन्त पाण्डेयलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
बिष्टले चोरीको मोटरसाइकल लुकाइराखेको छ भन्ने गोप्य सूचनाका आधारमा बिष्टको घरबाट प्रदेश ३–०२–००९ प ०६०७ नम्बर लेखेको मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरी निरिक्षक पाण्डेयले बताए ।
उनका अनुसार चम्मन भट्ट र वसन्त पाण्डेयलाई उक्त मोटरसाइकल बेचबिखनमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिइएको हो ।