अत्तरिया – अत्तरिया खबर दैनिकको चौथो वार्षिक उत्सवका अवसरमा आर्थिक अवस्था दयनिय भएकी कलु सार्किको घर निर्माणको अभियान सुरु गरिएको छ ।
आम्दानीको कुनै स्रोत नभएकी आर्थिक रुपमा विपन्न नगरपालिकाकै वडा नं. १ चैतन्यपुरकी कलुको घर निर्माणका लागि अत्तरिया खबरसँगको सहकार्यमा सोही वडाका जनप्रतिनिधि एवम् व्यवसायी गम्भीर साउँदले अभियान सुरु गरेका हुन ।
उक्त अभियानमा अत्तरिया खबर दैनिकले वार्षिक उत्सवका अवसरमा नगद १० हजार रुपैया सहयोग गरेको छ । यसअघि दैनिकले सोही अवसरमा कलु सार्किको घरमै गएर उनलाई नगद २ हजार रुपैया आर्थिक सहयोग पनि गरेको थियो । आर्थिक अवस्था एकदमै नाजुक भएकी कलु हाल अर्काको घरमा बस्दै आईरहेकी छन । उनका दुई छोराहरु छन, तर आम्दानीको कुनै स्रोत छैन । करिब १ वर्ष अघि श्रीमानको देहान्त भएपछि मानसिक रुपमा कमजोर कलुलाई थप समस्या परेको छ ।
उनको सबै समस्या समाधान गर्न नसकिएपनि अर्काको घरमा बस्दै आउनुपर्ने समस्या समाधान गर्न अभियान सञ्चालन गरिएको वडासदस्य साउँदले जानकारी दिए । उनले उक्त अभियानमा सबैले सहयोग गरिदिन पनि आग्रह गरे । अत्तरिया खबर दैनिकले प्रत्येक वर्ष आफ्नो वार्षिक उत्सवका अवसरमा विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।