काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अंग प्रत्यारोपणका लागि उपकेन्द्र खोलिने घोषणा गरेका छन् ।
विश्व अंगदान दिवसका अवसरमा भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अंगदान गर्नेहरुलाई सम्मान गर्दै मन्त्री पौडेलले आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा पनि यो विषय समेटिएको बताए । ‘मानव अंगदानका लागि सबै प्रदेशमा यसै केन्द्रको शाखाका रुपमा उप केन्द्र सञ्चालन हुनेछन्,’ उनले भने, ‘तत्काल कोशी प्रदेशबाट यो काम थालिनेछ ।’
मन्त्री पौडेलले कोशीमा छिट्टै उपकेन्द्र खुल्ने जानकारी दिँदै अरू प्रदेशमा पनि चाँडै काम थालिने गरी तयारी अघि बढिरहेको बताए ।