सन्तोष पन्त, बेलौरी – कञ्चनपुरको बेलौरी नागरपालिका –८ पचुइ स्थित हुलाकी राजमार्गमा हालिएको ग्राभेल विवादित बनेको छ । विगतमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेको पचुइ खप्टी पुलदेखि सशस्त्र प्रहरीको बिओपी पचुइ सम्मको करिब १५ सय मिटर बाटोमा नगरपालिकाको ठाडो निर्देशनमा हालिएको ग्राभेल विवादित बनेको हो ।
यस पटक एसएसबीलाई छलेर बेलौरी नगरपालिकाको ठाडो निर्देशनमा सम्झौता बिना हालिएको ग्राभेलको मात्राका विषयमा प्रश्न उठेपछि विवादित बनेको छ । गत असारको तेस्रो साता आएको वर्षा पछि उक्त बाटोको खाल्डाखुल्डी मर्मतका लागि बेलौरी नगरपालिकाले मर्मत गर्ने निर्णय गरेको थियो । जुन सडक मर्मतका विगतदेखि भारतले अवरोध गर्दै आएको थियो । २०७७ सालमा हुलाकी राजमार्ग अन्तरगत उक्त क्षेत्रमा सडक निर्माण गर्दा एसएसबीले अबरोध गरेको थियो । स्ट्रिप नक्सा अनुसार उक्त क्षेत्र भारतमा परेको एसएसबीले दाबी गरेको थियो ।


असार २३ र २४ गतेको वर्षापछि उक्त सीमा एसएसबी बस्न छोडेका थिए । सोही समयमा बेलौरी नगरपालिकाले बेलौरी नगरपालिका –९ को बिपी निर्माण सेवा प्रालि सँग सहकार्य गरेर ग्राभेल हालेको थियो । तर, सम्झौता बिनै हालिएको उक्त ग्राभेलको भुक्तानी गर्ने बेला कति टिप्पर ग्राभेल हालिएको भन्दै विवाद भएको छ ।
निर्माण कम्पनीले ३३ टिप्पर ग्राभेल हालेको दाबी गरेपनी स्थानीयले १४/१५ टिप्पर मात्रै ग्राभेल हालेको बताउँदै आएका छन् ।


बेलौरी नगरपालिका –८ पचुइका स्थानीय हरि चन्द ठकुरीले बाटोमा १५० घन मिटर अर्थात् १५ टिप्पर जति ग्राभेल हालिएकोमा जनप्रतिनिधि, ठेकेदार र प्राविधिकले ३३ टिप्पर ग्राभेल हालिएको दाबी गरिरहेको बताए ।
यता निर्माण कम्पनी भने आफूले ३३ टिप्पर नै ग्राभेल हालेको दाबी गरिरहेको छ । निर्माण कम्पनीका सञ्चालक पदम साउदका अनुसार आफूले ३३ टिप्पर नै ग्राभेल हालेको कुनै शङ्का भए नबिल बैंक कलकत्ताको सिसिटिभी फुटेज हेर्दा हुने बताए ।

‘उपमेयरको अनुरोधमा ग्राभेल हालेका हौ, खाल्डा खुल्डी पुर्ने सहमतिमा ३२/३३ टिप्पर नै ग्राभेल हालिएको छ’ साउदले भने ‘शङ्का छ भने नबिल बैंकको सिसिटिभी फुटेजमा कति आए गएको हेरौँ ।’ बाटोमा ठुलो खाल्डाखुल्डी ठुला भएपछि निर्माण कम्पनीलाई उपमेयर जोगराम चौधरीले पछि भुक्तानी गर्दा कोटेसन या अन्य कुनै माध्यमबाट भुक्तानी गरिने आश्वासन दिएको साउदले बताए ।
सुरुमा ठेकेदार ३३ टिप्पर ग्राभेल हालेको बिल नगरपालिकामा पेस गरेका थिए । ३३ टिप्परको बिल पेस भए पनि स्थानीयले पुन चेकजाँचको लागि पालिकामा दावाव दिएका थिए । पछि पुनः चेकजाँच गर्दा ठेकेदारको भनेको भन्दा कम देखिएको थियो ।
ग्राभेल हालेको २ सताभन्दा पनि बढी हुँदा ठेकेदारले कति ग्राभेल हालेको टुङ्गो लागेको छैन ।

यता नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले प्राविधिकहरूले बाटो नाप्दा ठेकेदारले भनेको भन्दा कम नै मात्रा आएको बताए । ‘बाटो बिग्रिएको थियो । बाटोमा ठुला खाल्डा थिए । प्रदेश र केन्द्र सङ्ग मर्मतका लागि पहल गरेकै हौ वास्ता गरेनन्’ उपप्रमुख चौधरी भने ‘बेलडाडी र बेलौरी – धनगढी आवतजावतमा समस्या भयो, त्यस कारण ग्राभेल हाल्दा थोरै भएपनी राहत हुने छ ।’
उनले एसएसबीले अवरोध गर्ने भएकाले एसएसबी नभएको समयमा बाटो मर्मत गरिएको उपप्रमुख चौधरीले बताए ।
उनले प्राविधिकले जाँच गर्दा ग्राभेलको मात्रा भने १५० घन मिटर नै देखिएको बताए । नगर प्रमुख पोतिलाल चौधरी अहिले काठमाण्डौँमा रहेकाले उनी फर्किएपछि छलफल गरेर विवाद टुङ्गो लगाइने उनले बताए । अहिले उक्त विवादित क्षेत्रमा महाकाली सुगर मिलले पनि ग्राभेल थपिरहेको छ ।
यसअघि सडक निर्माण नहुँदा उक्त सडकमा आवतजावत गर्न समस्या भइरहेको थियो । सडकमा ठुला ठुला खाल्डाखुल्डी हुँदा बेलडाडी गाउँ पालिका र बेलौरी नगरपालिका –८ ,९ र १० नम्बर वडाका स्थानीयलाई बेलौरी बजार र धनगढी आवतजावतमा समस्या भइरहेको थियो ।

















