खाेज्नुहाेस

बाजुराको कोल्टी–मार्तडी सडक तीन सातादेखि अवरुद्ध

Image
file photo

बाजुरा – बाजुराको कोल्टी–मार्तडी सडकखण्ड तिन सातादेखी अवरुद्ध बनेको छ । अविरल वर्षाका कारण असार दोस्रो सातादेखी पुर्ण रुपमा बन्द रहेको उक्त सडकखण्ड हालसम्म सञ्चालन हुन सकेको छैन ।

navjiwan hospital

सडक अवरुद्ध हुँदा यात्रुहरु मारमा परेका छन् । सडक बन्द हुँदा बाजुराको पूर्वी–उत्तरी भेगमा पर्ने चारवटा स्थानीय तह र हुम्ला, मुगु, कालिकोट, जुम्लाका नागरिकले कष्टकर यात्रा गर्नुपरेको छ । बाजुराको दोस्रो व्यापारिक केन्द्रका रूपमा रहेको कोल्टी बजारबाट जिल्ला सदरमुकाम मार्तडीसम्म ४२ किलोमिटर छ ।

attariya hospital

यात्रुहरूले मार्तडी र कोल्टी जान तीन ठाउँमा जिप परिवर्तन गर्नुपर्ने अवस्था रहेको स्थानीय बलबहादुर रोकायाले बताए । ‘४२ किलोमिटर सडकमा तीन ठाउँमा जिप परिवर्तन गर्नुपर्ने अवस्था छँदै छ । यात्रुहरूले जिप व्यवसायीलाई चर्को भाडा तिर्नुपर्ने बाध्यता पनि छ,’ उनले भने । यात्रुहरूले जोखिमपूर्ण यात्रासँगै ४२ किलोमिटर सडकमा १३ सयदेखि १५ सय रुपैयाँसम्म भाडा तिर्दै आएका छन् ।

प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले लगातार वर्षाका कारण तीन सातादेखि अवरुद्ध भएको कोल्टी–मार्तडी सडक नियमित सुचारु गर्न नसक्दा स्थानीय र यात्रुलाई कठिनाइ भएको बताए । सडक सुचारु गर्न आफूले सडक डिभिजन कार्यालय साँफेबगर र भौतिक पूर्वाधार विकास कार्यालयलाई निरन्तर आग्रह गरेको बताए ।