खाेज्नुहाेस

कञ्चनपुरका रानाथारु समुदायमा ‘सावनको डोला’को रौनक

Image

कञ्चनपुर- कञ्चनपुरका रानाथारु समुदायमा यतिबेला ‘सावनको डोला’को रौनक छाएको छ । चार वटा खम्बामा डोरि बाँधी डोरीमा पटरा राखी साउन महिनाभरि झुला झुल्ने (पिङ खेल्ने) गरिन्छ । साउन महिनाभरि झुला झुली महिनाको अन्तिममा ‘तिज’ पर्व मनाउँदै सावनको डोला (साउनको पिङ) समापन गरिन्छ । रानाथारु बस्तीमा हिजोदेखि ‘सावनको डोला’ सुरु भएको हो ।

के हो सावनको डोला ? 

attariya hospital

ले अरिये ये कौन वनके डालिये,कौन बन के चारो खम्बे
खम्बे के उपर रङ्ग बासुरी, बोलत माधुरी वन
क्यु क्यु करे पतिहा ,मेरो मन लेटे डोर

(कुन वनको हाङ्गा, कुन वनको चारै खम्बा, खम्बाको माथि रंगको बासुरी, भन्छ माधुरी वन  क्यु क्यु गर्छ पात, मेरो मन बेर्छ डोरी) लोकभाका गाउँदै पुरुषहरुले सावनको डोला निर्माण गर्छन । यही भाका गाउँदै झुला झुल्ने गरिन्छ ।

नजिकैको जङ्गलबाट चारवटा खम्बा ल्याई खम्बामा डोरी बेरी चौडा काटव (पटरा वा सिल्ली) राखिन्छ । यिनै माथिका पङ्ती गाउदै झुला झुल्ने गरिने रानाथारु सँस्कृतिका जानकार बेलौरी नगरपालिका-८ कलकत्ताका राधेश्याम रानाले बताए । रानाका अनुसार रानाथारु महिलाले अंगिया, घाघरा, चुनरी, घुघट लागायत परम्परागत पोशाक र पुरुषहरुले धोती लगाई विभिन्न परम्परागत लोक गीत र तिज गाउँदै झुला झुल्ने गर्दछ्न् । साउन सुरु भएसङ्गै सावनको डोला झुल्ने गरे पनि रानाथारु पात्रोमा साउन ७ गते साउनको डोला राखिएको भएकोले हिजोबाट नै साउनको डोल राख्न सुरु गरिएको रानाले बताए ।

maya metro hospital

पिङ खेल्दा महिला र पुरुषले छुट्टाछुट्टै भाकामा गीत गाउँदै पिङ खेल्ने गर्छन् । रानाथारु महिलाहरुले हिजोबाट आफ्ना दाजुभाइ र पतिको दीर्घायु, सुस्वाथ्यको लागि १६ सुमार (१६ हप्ता) व्रत पनि बस्ने चलन रहेको रानाले बताए ।

तिज पर्व अर्थात सावनको डोला विसर्जन

Karma Consultancy
navjiwan hospital

तिजका दिन रानाथारु महिलाहरू सबेरै उठेर नुहाउँछन् । साउन शुक्लपक्षको तृतीया तिथिका दिन मनाइने तिजका अवसरमा रानाथारु महिलाहरू अन्तिम पिङ खेल्ने र तिज गीत गाउने गर्छन् । तिजमा रानाथारु महिलाहरुले आफ्नो दाजुभाइको सुस्वास्थ्य ,दीर्घायुको कामना गर्दै निराहार व्रत बस्दछन् ।

त्यसपछि विभिन्न परिकारहरू पकाउछन् । तिजमा विषेश पुरी, सिमि, पकौडा र पापडलगायतका परिकारहरू पकाइन्छन् । त्यसमध्ये सबैभन्दा पहिले पाकेको अन्न पूजाका लागि अलग राखिन्छ । पकवानहरू सबै बनाइसकेपछि खेतबारीमा पाइने उरै (एक प्रकारको घाँस) संकलन गर्ने गरिएको राधेश्याम राना बताउँछन् ।

‘विवाहिता महिलाले ७ र अविवाहिताले ५ गाँठो पार्छन्  जसलाई रानाथारु भाषामा ‘झुडकी’ भनिन्छ’, रानाले भने, ‘पकवान, झुडकीसहितको उरै र पूजा सामग्रीसहित सबैजना सावनको डोला (पिङ) बनाइएको ठाउँमा भेला हुन्छन्, केहीबेर साउनको डोला खेल्नुका साथै तिज गीत गाएर नजिकैको नदी किनारमा जान्छन् ।’

नदीसम्म महिलाहरू तीज गीत गाउँदै जान्छन् । नदी किनारमा नुहाएर झुड्कीलाई चाँदीले काटेर बगाइ दिन्छन् । त्यसपछि नदी छेउमै बसेर आफूले लगेका परिकारहरू एकअर्कासंँग साटासाट गरेर खाइन्छ । यो सङ्गै सावन डोला झुल्ने पनि समापन हुन्छ ।

सँस्कृति लोप हुने चिन्ता

आधुनिकता सङ्गै राना सँस्कृती पनि लोप हुँदै गइरहेको छ । परापूर्व कालदेखि चलिआएको परम्परा लोप हुने अवस्थामा पुगेकोले सँस्कृती संरक्षणमा जोड दिनुपर्ने राना बताउँछ्न् । ‘रानाथारु समुदायमा छुट्टै सँस्कृति रहेको छ, आधुनिकता सङ्गै सबै हराउँदै छ’, रानाले भने, ‘युवा पुस्तालाई सँस्कृतिबारे चिन्ता चासो छैन, मौलिक गीत, सँस्कृतहरु जान्ने रहर छैन । परम्परागत पोसाक पनि लोभ भइरहेको छ ।’

रानाथारु कलाकार ,संघसस्थाहरुले सँस्कृती जगेर्ना गर्न प्रयास गरेकाले अहिले लोप हुनसक्ने अवस्था नआए पनि युवा पुस्तालाई तालिम दिई सँस्कृती संरक्षण गर्न सकिने उनी बताउँछन् । ‘रानाथारु गायक सिमित छ्न्, बुढापाकालाई मात्रै मौलिक गीत आउँछ’, रानाले भने, ‘कलाकारहरुले अहिलेसम्म सँस्कृति जोगाएकै छ्न्, युवा पुस्तालाई सँस्कृतिबारे जान्ने चिन्ता चासो छैन ।’

उनले सँस्कृती संरक्षणको अभियान चलाई युवापुस्तालाई सँस्कृतिबारे तालिम दिन आवश्यक रहेको बताए । नभए आउँदो समयमा राना सँस्कृती लोप हुनसक्ने रानाले चिन्ता व्यक्त गरे ।

No description available.