अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । दक्षिण अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिताको उपाधि जित्ने क्रममा अर्जेन्टिनाले आज अमेरिकाको मायमीस्थित हार्ड रक रंगशालामा कोलम्बियालाई १(० गोलले पराजित गर्यो ।
निर्धारित समयको खेलमा कुनै गोल हुन नसकेपछि खेल एक्स्ट्रा समयमा धकेलिएको थियो । जसमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गर्न सफल भए। उनले खेलको ११२औं मिनेटमा गोल गरेका थिए ।


यससँगै अर्जेन्टिनाले लगातार दोस्रो पटक कोपा अमेरिकाको उपाधि जितेको छ । सन् २०२१ मा अर्जेन्टिनाले ब्राजिललाई पराजित गरेर उपाधि जितेको थियो । अर्जेन्टिनाले समग्रमा १६औं पटक कोपाको उपाधि जित्न सफल भयो । १६औं उपाधि जितेसँगै अर्जेन्टिनाले सर्वाधिक कोपा जित्ने रेकर्ड पनि बनाएको छ । अघिल्लो पटक उपाधि जित्दा अर्जेन्टिनाले उरूग्वेको नाममा रहेको १५ उपाधिको रेकर्ड बराबरी गरेको छ ।
खेलमा अर्जेन्टिनाका कप्तान लिओनल मेसी घाइते हुँदै बाहिरिन बाध्य भएका थिए । दोस्रो हाफमा उनी मैदान बाहिरिएपछि निकोलास गोन्जालेज मैदान छिरेका थिए। ६८ मिनेटमा मेसीको खुट्टामा समस्या देखिएको थियो ।
चोटका कारण मैदान बाहिरिएसँगै मेसी निकै भावुक बनेका थिए । जसका कारण उनको आँखाबाट आँशु झरेको थियो । उनी मैदान बाहिरिदा मैदानमा उपस्थित दर्शकहरूले मेसीका लागि ठूलो हुटिङ गरेका थिए । तीन कोपा अमेरिका र एक विश्वकपको फाइनलमा पुगेर पनि पराजय भोगेका मेसीले पछिल्लो कोपा र विश्वकपको भने उपाधि जितेका थिए । मेसीले कोपा २०२४ को उपाधि जितेसँगै तीन वर्षमा तेस्रो उपाधि जित्न सफल भए ।
यसअघि कोपा २०२४ मा मेसी चिलीविरुद्धको खेलमा घाइते भएका थिए । जसका कारण उनले समूह चरणमा पेरुविरुद्धको खेल गुमाएका थिए । सेमिफाइनलमा क्याडनाविरुद्ध गरेको गोल उनको कोपा २०२४ को एक मात्र गोल हो ।


















