अत्तरियामा गंजागोल तारले जोखिम बढ्यो

अत्तरिया – कैलालीको अत्तरिया बजारमा जथाभावी रुपमा राखिएका तारहरुका कारण जोखिम बढेको छ । बजारमा राखिएका विद्युतिय पोलहरुमा गंजागोल रुपमा रहेका तारहरुका कारण आगलागीको जोखिम बढेको हो । नेपाल टेलिकमले आफ्नो फाईबर तार जडानका लागी हालेका पोलहरुमा अहिले सबै ईन्टरनेट प्रदायक कम्पनीहरुले आफ्ना तारहरु राखेका छन ।

maya metro hospital

जसका कारण बजारका पोलहरुमा चराको गुडजस्तै रुपमा तारहरु फिँजिएको अवस्थामा रहेका छन । नाफामुलक संस्थाका रुपमा सञ्चालीत विभिन्न ईन्टरनेट प्रदायक कम्पनीहरुले गर्दा जोखिम बढेको भएपनि सरोकारवाला निकाय भने मौन छ । नेपाल टेलिकमले ध्यान नदिँदा कुन दिन नसोचेको घट्ना घट्छ भन्ने चिन्तामा व्यवसायीहरु पनि छन ।

joshi vada pasal 2

व्यवसायी महेश ओझाले टेलिकमको पोलमा रहेका तारहरुका कारण व्यवसाय सञ्चालनमा पनि डर लाग्न थालेको बताए । उनले एक ठाउँमा घटना घटे त्यो पुरै शहरभरी नै फैलन सक्ने गरी तारहरु जडान भएका कारण थप जोखिम रहेको बताए । ‘सम्बन्धीत निकायले व्यवस्थापन गरिदिए राम्रो हुन्थ्यो’ उनले भने ‘पसलकै अगाडी तिर लट्किएको अवस्थामा समेत तारहरु रहेका हुन्छन, त्यसले व्यवसाय गर्नमा झन समस्या हुने गरेको छ ।’

उनले गुच्छो रुपमा तारहरु एकै ठाउँमा रहेका कारण आगलागीको चिन्ताले सताउने गरेको बताए । ‘मैले करिब २० वर्षदेखि यो ठाउँमा व्यापार गर्दै आएको छु, पहिला यस्ता तारहरु थिएनन’ उनले भने ‘अहिले विभिन्न नेटहरुका कारण तारहरु पनि बढेका छन, त्यसकारण कतै अप्रिय घटना घटिहाल्छ की भन्ने चिन्ताले सताईरहन्छ ।’

अर्का व्यवसायी डम्बर खड्काले पोलमा रहेका तारहरु व्यवस्थापन गरिनुपर्ने बताए । ‘व्यवसाय नै सञ्चालन गर्न नपाईने भन्ने हैन, तर नभएका पोलहरुमा मिलाएर राख्ने गरी तारहरु राखेको भए राम्रो हुन्थ्यो’ उनले भने ‘अहिले त गुच्छो रुपमा तारहरु एकै पोलमा राखिएका छन, जसले गर्दा एकातिर आगलागीको जोखिम छ भने अर्कातिर बजार पनि कुरुप बनेको छ ।’ उनले बजारको सुन्दरता पनि रहने, व्यवसाय पनि गर्न सकिने र दुर्घटना हुनबाट पनि बच्न सकिने तरिकाले तारहरुको व्यवस्थापन गरिनुपर्ने बताए ।

गत वर्ष मात्रै अत्तरिया चोक नजिकै रहेको एउटा पोलमा आगलागी भएको थियो । पुष महिनामा भएको आगलागीबाट पोलमा भएका तारहरु सबै जलेर नष्ट भएका हुँदा बजारका विद्युत र इन्टरनेट सेवा अवरुद्ध भएको थियो । समयमै जानकारी पाईदा आगालागीले भयंकर रुप लिन नसकेपनि एक किसिमको चिन्ता भने पैदा गरेको व्यवसायी लिलाराम सापकोटाले बताए ।

‘सबै सम्बन्धीत निकायलाई व्यक्तिगत भेटेरै जानकारी गराईसकेको छु’ उनले भने ‘कसैले ध्यान दिनुभएको छैन, कुन दिन यसले उग्र रुप लिन्छ थाहा छैन ।’ उनले जानकारी गराएका सबैले केही समय पछि अन्डर ग्राउण्ड तारहरु राखिने बताएको भएपनि कैले सम्म राख्ने भन्ने निश्चित नभएको बताए । ‘तारहरुबाट आगो नआएपनि कतै अरुबाट यहाँ आउन सक्छ नी’ उनले भने ‘नजिकै पेट्रोल पम्प छ, आगलागी भयो भने र बजार नै सखाप हुन्छ ।’

पहाडरोडस्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयको छेवैमा त झन उक्त तारहरुले सडक किनार छोएको छ । विद्यार्थीको अधिकतम चाप हुने उक्त स्थानमा रहेका तारहरुले कुन दिन अप्रिय घटना घट्छ भन्ने चिन्तामा विद्यालय प्रशासन छ ।

विद्यालयका अध्यक्ष गणेश शाहले तारहरुका कारण विद्यालयको बसलाई आवत जावतमा समस्या भैरहेको बताए । उनले तारको व्यवस्थापनका लागी नेपाल टेलिकमसँग आग्रह गर्दा नेपाल टेलिकम ले आफ्नो तार व्यवस्थापन गरेपनि अन्य ईन्टरनेट प्रदायक कम्पनिहरुले भने अटेरी गरेको बताए ।

यता नेपाल टेलिकमले भने त्यस्तो कुरामा आफ्नो उत्तरदायीत्व नरहेको जनाएको छ । नेपाल टेलिकमका अत्तरिया ईन्चार्ज भजन सिंह चौधरीले नेपाल टेलिकमले प्रयोग गरेसम्म प्रयोग गर्न पाउने गरी ईन्टरनेट प्रदायक कम्पनिहरु सँग सम्झौता भएको बताए । उनले आफुहरुले नेपाल विद्युत प्राधिकरणको पोलमा टेलिकमको फाईबर तार जडान कार्य गरिरहेकाले उक्त पोलहरुको उत्तरदायीत्व आफुहरुको नभएको बताए ।

‘हामीले त्यस्ता कम्पनीहरुसँग हाम्रो टेलिकमले प्रयोग गर्ने अवधीसम्मका लागी मात्रै भनेर सम्झौता गरेका छौ’ उनले भने ‘अहिले हामीले विद्युत प्राधिकरणलाई निश्चित कर बुझाउने गरी विद्युतका पोलहरुमा तारहरु जडान गरीरहेका छौ, पुराना पोलहरुबाट हामीले हटाउने काम गरिरहेका छौ ।’ उनले पुराना पोलहरुमा केही स्थानमा भने अझै पनि टेलिकमको तार रहेको र उक्त तारहरु हटाउनका लागी टेण्डर आह्वान गर्ने विषयमा छलफल भैरहेको बताए ।

उनले सम्झौता अनुसार टेलिकमले प्रयोग गर्न छोडिसकेपछि स्वतः रुपमा ईन्टरनेट प्रदायक कम्पनिहरुसँगको सम्झौता खारेज हुने बताए । उनले त्यस्ता ईन्टरनेट प्रदायक कम्पनीहरुसँग प्रयोग गरिएका पोलहरु को आधारमा शुल्क लिने गरेको पनि बताए ।

बजारमा टेलिकमले हालेका करिब सबै पोलहरुमा तारका झुप्पाहरु राखिएका छन । ति झुप्पाहरुमा आगलागी भए बजार पुरै ध्वस्त हुने सम्भावना रहेको छ । नजिकै पेट्रोल पम्प पनि रहेकाले आगलागीमा बढी क्षती हुन सक्ने अनुमान स्थानीयको छ । बजारीकरण बढेसँगै आगलागीको पनि सम्भावना बढेकाले व्यापारीहरुले उक्त तारहरुको उचित व्यवस्थापनको माग गर्न थालेका छन । ठाउँ ठाउँका पोलहरुमा झुन्ड्याईएका तारहरुले बजारको सून्दरता पनि बिगारेकाले त्यसको उचित व्यवस्थापन हुन अनिवार्य छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.