गोदावरी – कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थित देवहरिया वनस्पति उद्यान आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्न थालेको छ । वनस्पति अनुसन्धान केन्द्रका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा मात्रै २६ हजार ६० जनाले उद्यान अवलोकन गरेका छन् ।

अवलोकन गर्नेबाट रु पाँच लाख १७ हजार दुई सय १५ राजस्व सङ्कलन भएको वनस्पति अनुसन्धान केन्द्रले जनाएको छ । उद्यान व्यवस्थित गरिएपछि आन्तरिक पर्यटक अवलोकनका लागि दिनहुँ त्यहाँ जान थालेका छन् ।

यो उद्यानमा दुई सयभन्दा बढी वनस्पति रहेको छ । साल–साजदेखि हर्रो–हर्बलगायत छन् । अवलोकनका लागि आन्तरिक पर्यटक, विद्यार्थीलगायत आउने गरेको केन्द्रका प्रमुख गङ्गादत्त भट्टले जानकारी दिए ।
केन्द्रले १० वर्षमुनिका बालबालिका र ज्येष्ठ नागरिकको पाँच रुपैयाँ, विद्यार्थीको १० र वयस्कको प्रतिव्यक्ति २० रुपैयाँ प्रवेश शुल्क लिन्छ ।१४९.५ हेक्टर क्षेत्रफल उद्यानलाई देशकै उत्कृष्ट वनस्पति अनुसन्धान केन्द्र बनाउने लक्ष्य रहेको प्रमुख भट्टको भनाइ छ ।
सो उद्यान बोटानिकल गार्डेनका रुपमा रहेको छ । यो उद्यानमा जाखोर ताल, मुरफुट्टा, मुरफुट्टी गरी करिब २० हेक्टर ताल क्षेत्र छ । उद्यानमा वनस्पतिको अनुसन्धान र संरक्षणको काम हुँदै आएको छ । यसमा मेन्था, गुर्जोलगायतका वनस्पतिको अनुसन्धान गरिँदै आएको केन्द्रले जनाएको छ ।
रासस