कैलालीमा अविरल वर्षाका कारण धान डुबानमा, किसान चिन्तामा

कैलाली – गत वर्ष यहाँका किसानले धान भित्र्याउँनै लाग्दा अविरल वर्षाका कारण धान डुबानमा परी ठूलो क्षति भएको थियो । वर्षाले धान उठाउन त के किसानले धानको बीउसमेत जोगाउन सकेका थिएनन् । कतिपयले खेतमा धान काटेका थिए भने कोहीले थ्रेसर गर्न ठिक्क पारेर जम्मा गरेका थिए । धान उठाउन नपाएर पूरै क्षति भएको थियो । वर्षा बढ्न थालेपछि खेतमा पाकेको धानबाली क्षति हुने भन्दै यहाँका किसानका मनमा एक प्रकारको चिन्ता बढ्न थालेको छ ।

maya metro hospital

बुधबारदेखि निरन्तर वर्षा भइरहेकाले किसानका मनमा चिन्ता बढेको हो । अहिले किसानका खेतमा धान लटरम्मै पाकेको छ । कतिपयले काट्न सुरु गरिसकेका छन् । गत वर्षकै झै अवस्था यसपालि पनि दोहोरिने हो की भन्ने चिन्तामा छन् धनगढीको सरस्वती नगरका कृषक किसान माइला चौधरी । वर्षाले गत वर्ष खेतमा काटेको धान डुबानमा परी तैरिएको बिर्सिनसकेको उनले सुनाए । धान भित्र्याउनै लाग्दा ठूलो वर्षा भएपछि उनको झण्डै तीन बिघा क्षेत्रफलमा लगाएको धान पूरै क्षति भएको थियो ।

joshi vada pasal 2

वर्षा रोकिएला र धान जोगाउँला भन्दाभन्दै एक साताभन्दा बढी पानी परेपछि धान उठाउन त के धानको बीउसमेत जोगाउन नसकिएको चौधरीको भनाइ छ । धनगढीको शान्तिनगरकी निर्मला फुलाराले गए रातिको वर्षाले आफूले काटेर घरको आँगनमा राखेको धानमा क्षति पुगेको सुनाए ।

त्यस्तै धनगढीको बैयाबेहडीका किसान रामभगत चौधरीले खेतमा धान पाकेर काट्ने बेला भएको तर पानी पर्न थालेपछि आफूले वर्षभरिका लागि जोहो गरेर खाने अन्न बिग्रिने भन्दै दुखेसो पोखे । ‘वर्षा भइरहेकाले अघिल्लो वर्षकै स्थिति सिर्जना हुने पो हो की भन्ने पिरलो हुन थालेको छ’, उनले भने ।

बैयाबेहडीको दक्षिण बेल्टमा चौधरीले साढे दुई विघा जमिन ठेक्कामा लिई धान खेती गरेका छन् । उक्त खेतीबाट छ जना जहानको लालनपालन गर्दै आएका छन् । अहिले यहाँका अधिकांश किसानका खेतमा धान पाकेर लटरम्म भएको छ । छिटो गरी रोपाइँ गरेको किसानले धान काट्न सुरु गरिसकेका छन् ।

गत वर्ष वर्षाले धानबाली पूर्णरुपमा क्षति भएपछि खान लाउनसमेत समस्या भएको किसानले बताएका छन् । एकातिर धान खेतबारीमा लटरम्मै पाकेको अवस्था छ भने अर्कातिर निरन्तर वर्षा भइरहेकाले धान भित्र्याउन पाइन्छ कि पाइँदैन भन्ने किसानका मनमा चिन्ता छाएको छ । गत वर्ष वर्षाले खेत डुबानमा परेपछि किसानले हप्तौँसम्म पनि धान उठाउन सकेका थिएनन् ।

खेत तलाउमा परिणत भएका थिए । किसानका काटेका धान खेतको पानीमा तैरिएको थियो । खेतमै धान उम्रिएर जमराझैँ भएको थियो । घरपालुवा पशुचौपायाको आहाराको लागि प्रयोग गरिने परालसमेत खेतमै कुहिएको थियो । किसानका खेतमा यस वर्ष सर्जु, मन्सुली, भालेमन्सुली, राधा–४ लगायतका धानका जात बढी मात्रामा देखिन्छन् ।

रासस

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.