संसारका विभिन्न सुन्दर देशहरु मध्ये हाम्रो देश नेपाल पनि एक हो । केही समय अघि बेलायतको चर्चित ट्राभल गाइड रफ गाइडस्ले सार्वजनिक गरेको संसारका २० सुन्दर देशहरुको सूचीमा नेपाल पर्न नसकेता पनि सुन्दरताका विभिन्न इटाहरुको अभाव भने कतै महसुस नै गर्न सकिदैन् । स्कटल्यान्ड, क्यानडा, न्यजिल्यान्ड, इटली, दक्षिणअफ्रिका, इन्डोनेसिया, फिनल्यान्ड र स्विजरल्यान्ड आदि मुलूकको दाँजोमा प्राकृतिक रुपमै सुन्दर देशको रुपमा परिचीत गराउन नसकेता पनि नेपाली धर्म संस्कृति, मूल्यमान्यता, आदर्श र दर्शनहरुको भिँडबाट भने संसारमै एक उत्कृष्ट मुलुकको रुपमा शब्द प्रवाह गर्न त्यति हिच्किचाहट लाग्दै लाग्दैन । संसारमा यति धेरै धर्म, संस्कृति, मूल्यमान्यता र आर्दश बोकेको एउटा चिरपरिचित मुलूक हो भने त्यो हाम्रो सुन्दर देश नेपाल हो । यहाँका चाडपर्व, धर्म, संस्कृति मूल्यमान्यता, आदर्श र दर्शनको प्रसंग जोड्नु पर्दा सारांशमै भए पनि उल्लेख गर्न सान्दर्भिक ठान्दछु ।

हाम्रो देश नेपाल चाडपव, धर्म, संस्कृति, मूल्यमान्यता, आदर्श र दर्शनमा विविधता भएको एक सुन्दर मुलूक हो । सामान्यतया यहाँको सांस्कृतिक सौन्दर्यता संग सम्बन्धित पहिंचान विश्वको अन्य मुलूकहरुको दाँजोमा निकै फरक र अध्ययन योग्य देखिन्छ । बहुजातीय, बहुभाषिय, बहुधार्मिक, बहुसांस्कृतिक र क्षेत्रियतामा विविधता रहेको हाम्रो देशमा मनाइने विभिन्न चाडपर्व, धर्म संस्कृति, मूल्यमान्यता, आर्दश र दर्शनको चर्चा जतिसुकै गर्दा पनि प्रायःअधुरै लाग्ने गरेको छ । नेपाली जनमानसको घरआँगनमा प्रत्येक बर्ष एक पटक टुप्लुक्कै आइपुग्ने विभिन्न चाडपर्वहरु मध्ये बडा दशैंको मुखैमा हाम्रो सांस्कृतिक सौनदर्यता झल्किने यो लेख भित्र यहाँका चाडपर्व, धर्मसंस्कृति, मूल्यमान्यता, आदर्श र दर्शनमा चर्चा गर्नु अन्यथा हुनै सक्दैन् ।

दशैं
नेपाली हिन्दू सम्प्रदायमा दशैं सबै भन्दा ठूलो र महत्वपूर्ण चाडको रुपमा मनाउने चलन छ । बर्षमा एक पटक मान्यजनको हात बाट निधारमा टिका र कानमा जमारा पहिराउदै मनाइने यो पर्व बडा दशैंका नामले प्रचलित छ । सामान्यतया प्रियजनको साथको पुर्नताजगी गर्न एवम् पुनर्मिलनका लागि यो पर्व बर्षमा एक पटक आ–आफ्नो दैलामा मनाउन सबैजना तम्तयार रहने गर्दछन् । आश्विन शुक्ल प्रतिपदा देखि पूर्णिमा सम्म १५ दिन धुमधामका साथ मनाइने यो पर्वको आफ्नै किसिमको महिमा रहेको छ । संस्कृत शब्द दशमीबाट प्राकृत हुँदै नेपाली भाषामा आएको तद्भव शब्द हो दशैं ।
यो पर्व मनाउने प्रचलनको प्रारम्भका सम्बन्धमा खासै तथ्य नभेटिए पनि हामी अनुमान गर्न सक्छौं कि हाम्रा पितापूर्खाहरु अर्धजंगली अवस्थाबाट विकसित हुँदै कृषि युगमा प्रवेश गरेपछि दशैं पर्व मान्ने परम्परा सुरु भएको हुनु पर्दछ । सामान्यतया प्राचिनकालदेखि हिन्दु समाजमा दशैं पर्व अत्यन्तै महत्वका साथ मनाउने प्रचलन रही आएको छ । पौराणीक आख्यान अनुसार सत्य युगमा महिषासुर नाम गरेको दैत्य सम्राटले देवताहरुका राजा ईन्द्रलाई युद्धमा जितेर स्वर्गमा राज्य गरे र त्यहाका देवताहरु माथी आतंकपूर्ण ढंगबाट शासन गर्न थाले । दैत्य सम्राटको त्यो आतंक सहन गर्न नसकेपछि देवताहरु ब्रह्माको शरणमा गए । ब्रह्माको सल्लाह अनुसार भगवान विष्णु सहित महादेवको शरणमा पुगे । सबै देवताहरुको वृहत छलफल चल्यो ।
सो वृहत छलफल पछि सबै देवताहरुले आफ्नो आफ्नो शक्तिपुञ्ज निकाले । त्यसरी किालिएका शक्तिपुञ्जहरु एकत्रित भइ शक्तिस्वरुपा नवदुर्गा भगवतीको रुप धारण ग-यो । नवदुर्गा भगवतीले अब दैत्य सम्राटहरुलाई युद्धमा आउन आह्वान गरिन् । नवदुर्गा भगवतीले नवौं दिन सम्मको युद्धपछि शन्ड मुण्ड र रक्तबीज सहित महिषासुरको बध गरिन । सो महिषासुरको बध गरेर दशौं दिनमा धुमधाम संग विजय उत्सव मनाउने कार्य भयो । त्यो विजय उत्सव मनाउने दिन आश्विन शुक्ल प्रतिपदा देखि दशमी परेको थियो ।
यसै दिनको सम्झना स्वरुप विजया दशमी पर्व मनाइदै आएको हो भन्ने पौराणीक मान्यता छ । यो संगै दशैं पर्वको महिमा संग जोडिएका प्रशस्तै कथा तथा कहानीहरु सुन्नमा आएका पाइन्छन् । यस्तै एक अर्को कथानुसार–रामले रावणको बध गरेर अयोध्या फर्केपछि एक ठूलो जनसभा भयो । त्यो सभामा रामको जयजयकार र वीरताको बखान चलिरहँदा सीताले मुख मट्काएर व्यंग्य मुस्कान छोडेको दृश्य विश्वामित्रले याद गरेका रहेछन् । जनसभा समाप्त भएपछि विश्वामित्रले सीतासंग सोधे । सीताले सजिलै त बताउनै मानिनन् तर विश्वामित्रले लामो समय सम्म कर गरे पछि सीताले भनिन्, ‘त्यो जाबो दश टाउके रावणलाई वध गर्दा त रामको विरताको यत्रो बखान हुन्छ भने सहश्र टाउके अहिरावण र महिरावणलाई बध गरे भने तिमीहरुले के गर्दा हौ ? त्यस कारणले हाँसेकी हौं ।’
सीताको यो किसिमको अभिव्यक्तिले रामसभामा ठूलो तरंग पैदा ग-यो । रामको पुरुषार्थमा धक्का लाग्यो र उनले भने ‘त्यसो भए म अहिरावण र महिरावणको बध नगरी छोड्दिँन ।’ रामले यसो भन्दै प्रतिज्ञा गरे र युद्धको तयारी भयो । युद्ध प्रारम्भ भयो । दुबै पक्षको घमासानको युद्धमा राम समेत उनका भाइहरु मुर्छित भए । चारैतिर कोलाहल मच्चियो । त्यही मौकामा सीताले नवदुर्गा भगवतीको रौद्र रुप धारण गरी सहश्र टाउके रावणहरुको बध गरिन् । त्यो समय पनि आश्विन शुक्ल प्रतिपदा देखि नवमी नै परेको थियो । दशमीको दिन उनिहरुले विजय उत्सव मनाए । यस्तै खालका थुप्रै कथा तथा आख्यानहरु बाट प्रस्ट हुन्छ कि विजया दशमी नवदुर्गाको ध्यान,उपासना र पूजा आदिमा आधारित छ र असत्यमाथी सत्यको विजय भएको प्रतीकको रुपमा दशैं पर्व प्रत्येक वर्ष भव्यताका साथ मान्ने प्रचलन निरन्तर पुस्तान्तरण हुँदै गइरहेको पाइएको छ ।
सौन्दर्यता
प्राकृतिक सौन्दर्यताको हिसावले मात्रै नभै सामाजिक तथा सांस्कृतिक सौन्दर्यताले पनि हाम्रो देश नेपाल निकै धनि मानिन्छ । नेपालको इतिहासमा भएको ऐतिहासिक जनआन्दोलन भाग २ पश्चात संसदको अत्यधिक बहुमतद्धारा सबै धर्म र कानुनका अगाडी सबै धर्म समान हुन, राज्य संचालन तथा नीति निर्धारण गर्दा धर्मका नाममा हस्तक्षेप गर्न पाइदैन भन्ने सिद्धान्त अनुरुप २०६२ जेठ २ मा नेपाल जव धर्मनिरपेक्ष राष्ट्र घोषणा भयो । त्यही समय देखि देशमा सबै किसिमका धर्म, संस्कृति, मूल्यमान्यता, आर्दश र दर्शनहरुले समान महत्व पाएका छन् । हिन्दु, बौद्ध, मुस्लिम, ईसाइ, शिख, किराँत आदि जुनसुकै धर्मालम्बिका मानिसहरुले पनि स्वतन्त्रपूर्वक आ–आफ्नो धर्म मानेर शान्तीका साथ सभ्य ढंगबाट धर्म सहिष्णुता र सह अस्तित्वको वातावरणमा बाँच्न निकै सहज भएको छ । नेपाल जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृति, बहुधार्मिक देशमा धर्म सापेक्षता अर्थपूर्ण नहुने कुराको समेत पुष्टि भएको छ । यति मात्रै नभै नेपालको संविधान बाट पनि यहाँका सबै किसिमका धर्म, संस्कृति, मूल्यमान्यता, आर्दश र दर्शनहरुले राम्रो सम्मान पाएको देखिन्छ । जो कुरा नेपालको वर्तमान संविधान भित्र रहेका निम्न वाक्यांशहरु बाट पनि पुष्टि हुने गर्दछ :–
१. नेपालको संविधानमा धार्मिक स्तन्त्रता र धर्म निरपेक्षताको व्यवसथा रहेको,
२. धार्मिक सांस्कृतिक सहिष्णुतामा जोड दिइएको,
३. अर्काको धर्ममा खलल पार्ने काम वा व्यवहार गर्न वा गराउन नहुने र त्यस्तो काम कानुन अनुसार दण्डनीय हुने प्रावधान रहेको छ,
४. धर्म, परम्परा र संस्कृतिको आधारमा भेदभाव र शोषण गर्न नपाइने व्यवस्था रहेको,
५. राज्यको सामाजिक र सांस्कृतिक उद्देश्य निर्धारण गरिएको,
६. राष्ट्रिय तथा मातृभाषाको संबर्धनका लागि भाषा आयोगको गठन गरिएको,
७. आफ्नो भाषा,लिपि र संस्कृतिको संरक्षण तथा संबर्धन सम्बन्धि मौलिक हकको व्यवस्था रहेको ।
हाम्रो देशमा मनाइने चाडपर्वहरु मध्ये दशैं पर्व मात्रै नभै यहाँ विभिन्न जातजातिका मानिसहरुले विभिन्न किसिमका चाडपर्वहरु मनाउने प्रचलन रहेको छ । यहाँका चाडपर्व, धर्म, संस्कृति, मूल्यमान्यता, आदर्श र दर्शन आमी नेपालीहरुका सांस्कृतिक सुन्दरताहरु हुन् जसले नेपाली सांस्कृतिक जगतमा निकै सौन्दर्यता थप्ने कार्य गरिरहेका छन् ।
सामान्यतया कार्तिक कृष्ण त्रयोदशी देखि ५ दिनसम्म मनाइने तिहार, भाद्र शुक्ल तृतियाका दिन मनाइने हरितालिका तिज, फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्व र चैत शुक्ल अष्टमीका दिन मनाइने चैते दशैंसंगै यहाँ बैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती,हिमाली भूभागमा रहेका शेर्पा,भोटे,गुरुङ्ग,थकाली र मगर जातीले माघ महिनातिर मनाउने ल्होसार पर्व, माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व, श्रावण शुक्ल पूर्णिमामा मनाइने जनै पूर्णिमा पर्व, नेपालको पूर्वि क्षेत्रमा राई जातीहरुले मनाउने उधौली र उभौली पर्व महत्वपूर्ण पर्वका रुपमा रहेका छन् ।
यति मात्रै नभै मैथली संस्कृति अनुसार प्रत्येक बर्ष बैशाख २ गते मनाइने जुडशितल पर्व, ईस्लाम धर्मालम्बिहरुको ईद, नेवार समुदायले जेठ शुक्ल षष्ठीका दिन मनाइने प्रसिद्ध कुमार षष्ठी पर्व, किराँत समुदायका लिम्बु जातीका मानिसहरुले कार्तिक महिनामा मनाउने प्रसिद्ध महान पर्व चासोक ताङ्नाम, सुदूरपश्चिम र कर्णाली प्रदेशमा भाद्र कृष्णअष्टमी देखि लगातार ३ दिनसम्म मनाइने गौरा पर्व, नेपालका आदिवासी सतार जातीले मनाउने पातामेला पर्व, राजवंशी समुदायका मानिसहरुले मनाउने सिरुवा पर्व, नेपालका थारु समुदायका मानिसहरुले अन्न भित्र्याएको दिन मनाउने पेन्दिया पर्व, बारा जिल्लाको वरियापुरमा पाँच–पाँच बर्षको अन्तरमा मनाइने गढीमाइ मेला, तमु जातीको भेषभूषा, रहनसहन र संस्कृति झल्किने ट्रहुटे पर्व र खासगरी जनकपुरमा कार्तिक शुक्ल पक्षको षष्ठीमा मनाइने छठ पर्व पनि नेपालका ज्यादै महत्वका चाडपर्वहरु हुन् । यो संग संगैमाघे सङ्क्रन्ति, रामनवमी, नागपञ्चमी, होली, कुशे औंशी पर्व मात्रै मनाइदैनन् । यहाँ ईसाइ धर्मालम्बिहरुले प्रत्येक बर्षको डिसेम्बर २५ मा क्रिसमस पर्व पनि मनाउने गर्दछन् । यसरी नेपालको भूगोल भित्र विभिन्न किसिमका चाडपर्वहरु ज्यादै महत्वका साथ मनाउने प्रचलन रहेकोछ जुन विश्वका अन्य मुलूकहरुको भन्दा ज्यादै पृथक एवम् फरक मानिन्छ ।
सारांश
पर्व दुनियाँमा जसले जे जतिसुकै मान्ने गरेका भएता पनि यस भित्र आउन सक्ने सम्भावित विकृति र विसंगतीहरुलाई रोक्दै सबैले आ–आफ्नो गच्छे र क्षमता अनुसार मात्रै तडकभडक रहित ढंगबाट मनाउने गरौं । राज्यले यस सम्बन्धि जे जति व्यवस्था र अवस्था सृजना गरि सरलता र सहजता प्रदान गरेको भएतापनि मानविय मूल्यमान्यता,आदर्श र दर्शन विपरितका कार्यकलापहरु माथी प्रतिबन्ध लगाउनु लगाऊँ । मानव सभ्यता भित्र जे जति प्रथा, परम्परा, चालचलन र रितीरिवाजहरु भएतापनि मानविय असल स्वभावहरु विलिन हुन नदिऊँ । अन्याय, अत्याचार, दमन, शोषण, क्रोध, मोह, लोभ र अहंकारको अन्त्य गरौं ।
अराजतकता, अस्थिरता, बेमानी र गलत विचारको अन्त्य गरिनु गरौं । राजनीतिक बैमानी बाट देश र जनताले मुक्ति पाउनु पर्दछ । संसारमा धेरै समय पछि मात्रै उदायका मुलूकहरुका दाँजोमा हामी निकै पछाडी रहेको महसुस गरिरहेका छौं । हाम्रो राजनीतिक अस्थिरता अन्त्य हुनै पर्दछ । हाम्रो परिवार, समाज, समुदाय र राष्ट्र भित्र रहेका सबै खालका विकृति, विसंगती, कु–प्रथा, परम्परार प्रचलनहरुको अन्त्यका लागि एक जुट भइ निरन्तर लाग्नु पर्दछ । मानव अधिकारको प्रत्याभूति, पूर्ण प्रेश स्वतन्त्रता, निश्पक्ष न्यायपालिका, कानुनी राज्यको व्यवस्था, दिगो शान्ति, सुशासन, विकास र समृद्धिको मार्ग प्रसश्त हुनु पर्दछ । कानुनी व्यवस्था मात्रै प्रयाप्त होइन, त्यसको असल र सफल कार्यान्वयन आजको आवश्यकता हो । राज्यको बागडोर सह्माल्नेहरुलाई हेक्का हुन जरुरी ठान्दछु । यसपालिको बडा दशैंमा सबैको निधारमा टिका होस्, कानमा जमारा होस्, परिवारमा खुशी छावस्, मंसिर ४ को निर्वान संगै स्थायी सरकार आवस् अनि देशमा शान्ति र सुव्यवस्था छावस् सबैमा मांगलिक शुभकामना । माता दुर्गाले सबैको कल्याण गरुन् ।
लेखक : मिनबहादुर रोकाया (मा.वि.सामाजिक विषय शिक्षक)
घण्टेश्वर माध्यमिक विद्यालय, कुँडिकोट, जोरायल, डोटी