बझाङमा हाडजोर्नीका डाक्टर नहुँदा बिरामीलाई महंगोमा उपचार गर्नुपर्ने बाध्यता

बझाङ – खप्तडछान्ना गाउँपालिका – ४ मेल्तडीका गौतम रोकायाको खेल्ने क्रममा सोमबार साँझ दायाँ हात भाँचियो । भाँचिएको हातको उपचारका लागि स्थानीय स्वास्थ्यचौकीमा सम्भव नहुने भएपछि मंगलबार उनलाई बोकेर चैनपुरस्थित जिल्ला अस्पताल पु-याइयो ।

मेल्तडीबाट सात घण्टा हिँडेर जिल्ला अस्पताल पुगे पनि अस्पतालले उनको उपचार यहाँ नहुने भन्दै डडेलधुरा वा धनगढी जान सुझाव दियो ।
गौतमका बुवा अर्जुन रोकाया मजदुरीका लागि भारत गएका छन । न्यून आर्थिक अवस्था भएको उनको परिवारलाई धनगढी गएर उपचार खर्च जुटाउन गाह्रो भएको छ ।

joshi vada pasal 2

‘यहाँ डाक्टर छैन । डडेलधुरा वा धनगढी लैजानुस् भनेर अस्पतालले रिफर गरेको छ’ गौतमका मामा लोकेन्द्र रावलले भने, ‘जिल्लामै ठीक भइहाल्ला भनेर सोचेका थियौं । पैसा पनि धेरै छैन । त्यहाँ कति पो खर्च लाग्ने हो ? कति दिन बस्नुपर्ने हो ? कहाँबाट पैसा जुटाउने तनाव भएको छ ।’ उनले गौतमलाई उपचारका लागि धनगढी लैजानका लागि समस्या भएको सुनाए ।

असार तेस्रो हप्ता जयपृथ्वी नगरपालिका–३ पडेसका ९ वर्षीय समर्पण ओलीको पनि कुमको जोर्नी भाँचियो । जिल्लामा उपचार नभएपछि डडेलधुरा अस्पतालन जानुप-यो । ‘जिल्ला अस्पतालमा डाक्टर भइदिएको भए ७/८ हजारमा उपचार हुन्थ्यो । डडेलधुरा जाँदा गाडीभाँडा, उपचार खर्च, खानबस्न गरेर ७० हजार रुपैयाँभन्दा बढी खर्च भयो’ समर्पणका दाइ प्रताप ओलीले भने, ‘एक/दुई दिन त पैसा खोज्नै लाग्यो, ५० हजार जति ऋण परेको छ ।’ उनले डडेलधुरा अस्पतालमा पनि बाहिरबाट आएका बिरामीलाई समयमै उपचारका लागि पहल नगरेपछि भनसुन गरेर उपचार गराएको र १ हप्ता त्यतै बस्नुपरेको बताए ।

maya metro hospital

जेठमा सुर्मा गाउँपालिका – ३ की ३७ वर्षीया सीता विक यार्चा टिपेर फर्किने क्रममा लडेर गम्भीर घाइते भइन । पार्थी भन्ने ठाउँबाट दौलीचौर जाँदै गर्दा उनी पार्थी र अगाडबीचमा पर्ने पालहाल्ने भन्ने ठाउँनजिक चिप्लेर लडेकी थिइन । लडेर झन्डै २० मिटर तल भीरमा अड्केकी उनको बायाँ हात भाँचिएको छ । बायाँ छातीका तीनवटा करङसमेत भाँचिएकी उनी संयोगले बाँचिन ।

bishal shuit house

उनको उपचार बझाङमा हुन सकेन । धनगढी नेपालगन्जका सुविधायुक्त ठाउँमा उपचार गराउन सक्ने आर्थिक हैसियत नभएपछि भारतको दिल्लीमा आफन्तहरूले सहयोग गरेर उपचार भयो । खाना र कोठाको सहयोग आफन्तबाट पाउँदा पनि उनको परिवारलाई चार लाख ऋण लागेको छ । अहिले पनि उनी पूर्ण रूपमा स्वस्थ भएकी छैनन ।

विपन्न आर्थिक अवस्थाकी उनको घर भएको जग्गा पनि स्थानीय गैर दलितको नाममा छ । उनलाई प्रत्येक दुई महिनामा चिकित्सकले फलोअपका लागि आउनु भनेका छन । तर उनीसँग दिल्ली जान त परै जाओस्, बिहानबेलुका खानको लागि पनि खर्च जुटाउन हम्मे छ ।
जिल्लामै हाडजोर्नीसम्बन्धी उपचारको व्यवस्था नहुँदा गौतम, समर्णण र सीताजस्तै थुप्रै बझाङीहरूले यो समस्या भोगिरहेका छन । कतिपयले त आर्थिक अभावकै कारण नियमित गर्नुपर्ने जाँचसमेत छोडेका छन ।

‘दिनहुँजसो एक/दुई जना रेफर भएकै हुन्छन्’ जिल्ला अस्पताल बझाङका डाक्टर मिलन खड्काले भने, ‘यतै उपचारको व्यवस्था भइदिएको भए ५ देखि १० हजार खर्चमा निको हुने बिरामीहरूले पनि एक डेढ लाख खर्च गर्नुपरेको छ । आर्थिक अवस्था कमजोर भएकाहरूलाई धेरै समस्या परेको छ ।’

हाडजोर्नीसम्बन्धी उपचार गर्न चाहिने उपकरण भए पनि विशेषज्ञ चिकित्सकको अभावमा सामान्य समस्या भएका बिरामीलाई पनि रिफर गर्नुपरेको डा. खडकाले बताए । ‘सिआर्म एक्सरेबाहेक हाडजोर्नीको जटिल अप्रेसन गर्नका लागि पनि हामीसँग उपकरण र पूर्वाधार छ तर अर्थोसम्बन्धी डाक्टर नहुँदा वर्षमा डेढ दुई सय जनालाई बाहिर पठाउनुपर्छ । हुनेखाने त जता गएर पनि उपचार गर्छन । गरिब विपन्नहरूलाई समस्या हुन्छ,’ उनले भने ।

जिल्ला अस्पताल बझाङको तथ्यांकअनुसार २०७८ साउनदेखि चैतसम्म नौ महिनाको अवधिमा मात्रै बझाङबाट हाडजोर्नीको समस्या भएका २ सय २३ बिरामीलाई अन्यत्र रिफर गरिएको छ । २०७६ साउनदेखि ०७८ चैतसम्म तीन वर्षमा ४५ जना सामान्य समस्या भएका बिरामीको जिल्लामै उपचार भएको छ । यो तीन वर्षको अवधिमा ५ सय ८ जना हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामीको जिल्लामा उपचार हुन नसकेर बाहिर रिफर गरिएको अस्पतालको रेकर्डमा उल्लेख छ ।

उनले आर्थिक अभाव भएका कतिपय बिरामी बाहिर गएर उपचार गराउँदा लागेको ऋण तिर्न परिवारसहित भारततिर पलायन हुनु परेको सुनाए । ‘जता पनि सोर्सफोर्स नै चाहिने रहेछ । दुर्गम गरिबको समस्या हेर्ने भन्ने कुरा गफ मात्रै रहेछन’ उनले भने । (कान्तिपुरबाट)

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.