अत्तरिया – शनिबार नेपालमा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइदैं छ । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो ।

त्यसै दिनको सम्झनामा हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका रुपमा मनाउने गरिन्छ । नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १६ वर्ष बित्दा पनि व्यवहारमा भने छुवाछुत र विभेद हट्न सकेको छैन ।

लामो संघर्ष पछि जातीय विभेद अन्त्यका लागि नेपालमा धेरै कानून निर्माण गरिएपनि त्यसको ठोस कार्यान्वय हुन सकेको छैन । जातीय विभेदका घटना एक पछि अर्को घट्ने क्रम रोकिएको छैन ।
जसले गर्दा अहिले सम्म भएका भनिएका उपलब्धिको पनि समिक्षा गर्नुपर्ने अवस्था आएको छ । तर, बिडम्बना अहिले पनि यो समस्यालाई एक समुदायको समस्याका रुपमा मात्रै हेर्ने गरिएको छ । जसरी यो राष्ट्रिको समस्यामा रुपमा रहेको जातीय विभेद अन्त्यका लागि खुला बहस हुनुपथ्र्यो त्यो हुन सकेको छैन । महिला माथि हुने हिन्सा महिलाले चाहेर मात्रै अन्त्य हुन सक्दैन ।
त्यस्तै दलित समुदाय माथि हुने बिभेद अन्त्यका लागि पनि दलित समुदाय जति धेरै सक्रिय भएपनि यसको अन्त्यका लागि असम्भव छ । अहिले शिक्षित गैरदलित समुदायका व्यक्ति यसको अन्त्यका लागि आवाज उठाउने गरेका भएपनि त्यो सिमित छ ।
यो विभेद अन्त्यका लागि जसरी सबै समुदायका शिक्षित वर्ग एक भएर लाग्नुपथ्र्यो त्यो हुन सकेको छैन । दलित समुदायले गर्ने वहसमा पनि दलित–दलित समुदाय बसेर बसह गर्ने गरिन्छ ।
सहर केन्द्रित कार्यक्रम
जातीय विभेदको समस्या सहर बजार क्षेत्रको तुलनामा ग्रामिण क्षेत्रमा बढी छ । तर यसको अन्त्यका लागि हुने बहस गोष्ठि भने सहर केन्द्रित छन । जुन ठाउँमा यसको बढी समस्या छ त्यो ठाउँमा गएर सचेत गराउने, बहस गर्ने काम न्यून मात्रामा हुने गरेका छन ।
अहिले यी र यस्तै कुराको सम्बन्धित ठाउँमै गएर अध्ययन गर्ने, छलफल गर्ने अगुवाको यो समाजलाई खाचो छ । त्यसैले अबको नयाँ पुस्ताले बिशेष गरी हाम्रो ग्रामीण भेगमा रहेका यस्ता असमानता हटाउन पहल गर्न आवश्यक छ । यसका लागि युवा पुस्ताका दलित र गैरदलित एक ठाउँमा बसेर खुला बहस गर्न सक्नु पर्छ ।
जुन कुराले हामीलाई भावनात्मक रुपमा अलग गर्न खोजेको छ त्यो मेटाउन जरुरी छ । जुन कामको जिम्मेवारी अहिलेको नयाँ पुस्ताको युवाहरुले लिन आवश्यक छ । अहिले पनि जातियताको नाममा बिभिन्न घटना हुने गरेका छन ।

एउटा ठाउँमा एक व्यक्तिले गरेको घटनाले सिङ्गो सामाजलाई त्यहि नजरमा हेर्ने गरिदाँ त्यसले सामाजिक सदभाव नै विग्रने डर छ । जसले समाजको भावनात्मक एकतामा असर पारेको छ । जुन बेला बेलामा बिभिन्न माद्यमबाट देखिने गरी प्रकट पनि भएको हुन्छ ।
साँझा समस्या बन्नुपर्छ
जातिय विभेद भएका बिषयमा बहस गर्न दलित–दलित समुदाय एक ठाउँमा बसेर छलफल गर्ने गरिन्छ । योजना बनाईन्छ । त्यो आफ्नो समुदायप्रति भएको बिभेदका बिरुद्ध आवाज उठाउन स्वाभाबिक पनि हो ।
तर, त्यसो भन्दैमा सबै गैरदलित बिपक्षमै छन जस्तो गरी दलित समुदायले सोच्नु गलत हो भने दलित प्रति भएको विभेदमा एउटा सचेत गैरदलित चुप लाग्नु झनै मुर्खता हो । यस्तो संकुचित सोचले कहिले पनि हाम्रो समाज माथि उठ्न सक्दैन ।
विकास भनेको भौतिक मात्र हुँदैन । भौतिक विकास गर्नको लागि पनि सामाजमा यस्ता असमानता, विकृति, विसंगती, जात, धर्म, भाषा, लिङ्गका आधारमा गरिने विभेद अन्त्य हुनु पर्छ । अहिले पनि दलित, महिला सशक्तिकरणका लागि करोडौ रकम खर्च गर्नु परिरहेको छ । यो अवस्था किन आयो र कस्को कारणले आयो । यी सबैको कारण बिभेदकारी सोच नै हौ । हाम्रो सामाजिक संरचना नै हो ।
जहिले सम्म हामी असमान व्यवहार गरिरहन्छै, अरुलाई शोषण अथवा दवाएर अथवा पछि पारेर अगाडी बढ्न सक्छै भन्ने सोच मनबाट हटाउदैनौ तबसम्म एउटा तप्का, एउटा वर्ग सधै आफूलाई अन्याय भएको महशुस गरिरहने छ ।
जुन प्रवृति हाम्रो समाज र देश विकासको बाधकको रुपमा रहिरहने छ । त्यसैले यी र यस्ता असमानता हटाउनु पनि देश विकासको आधार हो भन्ने मनन् गरी सबैले अगाडी बढ्न आवश्यक छ ।
युवा एक हुन आवश्यक
युवा पुस्ताले हाम्रो परम्पराको नाममा चल्दै आएका यस्ता विकृती, विसंगतीलाई छुट्याउन सक्नु पर्छ भने यस्ता विकृती, विसंगती हटाउन सबै युवा एक भएर लाग्न आवश्यक छ । दलित गैरदलित नभनी अहिलेको युवा पुस्ताले आफ्नो सामाजमा भएका यस्ता विभेद हटाउन अहिलेको युवा पुस्ताले आफैले विभेद नगर्ने प्रण गर्न सक्नु पर्छ ।
जसले गर्दा अहिलेको युवा पुस्ता पछिको नयाँ पुस्तामा पनि यो समस्या नआओस् । नत्र यस्ता बिकृती बिस्तारै– बिस्तारै हट्दै जान्छन भन्ने तर्कलाई मान्नुको विकल्प छैन ।
जसले गर्दा पन्ध्रौ शताप्दि देखि चल्दै आएको भनिएको जातिय विभेद हाम्रो अहिलेको पुस्ता पनि अघिल्लो पुस्तामा हट्लाकी भन्ने आशा बोकेर अस्ताउनु पर्ने छ ।
