निःशुल्क स्वास्थ्य शिविरले विपन्न परिवारका बिरामी खुसी

बैतडी – बैतडीको दशरथचन्द नगरपालिका–११ की लक्ष्मी लुहारकी छोरी उर्मिलाको हातका औंला आगोले पोलेको ११ वर्ष भयो । छोरी ३ महिनाकी हुँदा भएको दुर्घटनापछि लक्ष्मीले उपचारका लागि जिल्ला अस्पताल बैतडी ल्याएकी थिइन । अस्पतालले थप उपचार गर्न जिल्लाबाहिर लैजान भनेको थियो । तर आर्थिक अभावले छोरीलाई कतै लैजान नसकेर घरै फर्काइन ।

विस्तारै छोरीका तीन औंला निको हुनुको साटो बाँगो हुन थाले । हाल ६ कक्षामा पढ्ने छोरीको औंला यस्तो हुँदा लक्ष्मीलाई पीर लागिरहन्थ्यो । उनलाई उपचारका लागि ठूलो अस्पताल लैजान मन नभएको होइन । पैसा नभएर उनले मन भारी बनाएर वर्षौं बिताएकी थिइन । तर, जिल्ला अस्पताल बैतडीमा चैत १९ देखि २३ गतेसम्म सञ्चालित हाडजोर्नी उपचार शिविरले भने उनमा खुसी ल्याएको छ ।

joshi vada pasal 2

उपचारपछि उर्मिलाका हातका औंलाहरू सोझिएका छन । डाक्टरका अनुसार अबको २ सातापछि उनका औंला सामान्य रूपमै चल्नेछन । ‘पहिलो दिन नै अप्रेसन भएको थियो । अब घर लिएर जाने हो,’ लक्ष्मीले खुसी मुद्रामा भनिन्, ‘गाउँकै स्वास्थ्यसंस्थाबाट हातको पट्टि खोलेपछि निको हुन्छ रे ।’

bishal shuit house

लक्ष्मीकी आमाछोरी मात्र होइनन् जिल्ला अस्पतालमा हाडजोर्नीको समस्या लिएर आएका धेरै बिरामी उपचारपछि खुसी छन । वर्षौंदेखि समस्या भएर पनि उपचार नपाएका बिरामीले सेवा लिन पाए । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय बैतडीको समन्वयमा निःशुल्क शिविर सञ्चालन गरेपछि यहाँका बिरामीहरूलाई राहत मिलेको हो ।

maya metro hospital

सुर्नया गाउँपालिका–३ का ६३ वर्षीया रुदि विष्ट पनि शिविरमा निःशुल्क उपचार पाएपछि खुसी छन । १ वर्षअघि उनको हात पाकेको थियो । राम्रोसँग उपचार नपाउँदा घाउ बल्झिँदै गयो । भारतमा मजदुरी गर्ने छोराले उपचारका लागि बोलाएपछि गएका उनी पैसा नहुँदा उपचारै नगराएर फर्किनुपरेको थियो ।

‘हातले धेरै दुःख दिएको थियो,’ उनले भने, ‘अब दुःखका दिन गएजस्तो लागेको छ ।’ शिविरमा निःशुल्क उपचार पाएपछि भगवान् भेटिएजस्तो महसुस गरेको उनले सुनाए ।

पञ्चेश्वर गाउँपालिका–४ की २३ वर्षीया मन्जु सार्कीले पनि यही शिविरमा उपचार पाइन । रूखबाट लडेर खुट्टामा चोट लागेकी उनले आर्थिक समस्याले गर्दा राम्रो उपचार पाएकी थिइनन । २ वर्षअघि भाँचिएको खुट्टामा रड राखिएको थियो । शिविर आएपछि थप उपचार पाएको उनले बताइन ।

शिविरमा १२ सयभन्दा बढी हाडजोर्नीका बिरामीले सेवा लिएको जिल्ला अस्पताल बैतडीका व्यवस्थापक सुमन महराले बताए । उनका अनुसार ८० भन्दा बढीको शल्यक्रिया गरिएको छ । ‘उपचार गराउने पैसा नभएर ६ वर्षसम्म रड राखेका बिरामी पनि सेवा लिन आए । जिल्ला अस्पतालमा भएको यो हालसम्मको ठूलो शिविर पनि हो, शिविरले धेरैको जीवन फेरिएको छ,’ महराले भने । (कान्तिपुरबाट)

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.